समाज

१२ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्याे

फाइल फाेटाे

काठमाडौं – शनिबार राति ८ः३० बजेदेखि अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि खुलेकाे छ। यति एयरलाइन्सको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो।

चिप्लियर घाँसे मैदानमा धाँसिएको विमान रातभरी हटाउने प्रयास गरिएपनि सम्भव नभएपछि आज बिहान ८ः१५ बजेतिर हटाइएको विमानस्थलका प्रवक्ता बाबु तिवारीले जानकारी दिए। राति दुई ओटा क्रेनको सहायताले विमान हटाउने प्रयास गरिएको भएपनि विमानको अगाडिको भाग खाडलमा धाँसिएकाले र राति पानी परेकाले विमान हटाउन नसकिएको तिवारीले बताए।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा सयौं यात्रु रातभर विमानस्थलमा अलपत्र परेका थिए।

उक्त विमानमा चालक दलसहित २१ जना यात्रु सवार थिए। यो विमान नेपालगञ्जबाट क्याप्टेन लाभिस च्नद र एलिसा सिजापतिले उडाएका थिए।

प्रकाशित: १७ भाद्र २०७५ ०३:०५ आइतबार

अन्तराष्ट्रिय_विमानस्थल सञ्चालन