समाज

किर्ते हस्ताक्षर गरेर रकम हिनामिना

बाजुरा- सिँचाई कुलो निर्माण समितिका सचिवले किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलासा भएको छ। बडिमालिका नगरपालिका–३ रजालीमा निर्माण गरिएको काफल खोला सिँचाई योजना निर्माण समितिका सचिव नरबहादुर रावलले अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर आफैले गरी रकम झिकेर हिनामिना गरेको खुलासा भएको हो।

अन्तिम किस्ता बापतको रकम निकाशाका लागि समितिका अध्यक्ष झुपे खड्का र कोषाध्यक्ष फुँगी चदारा बैंक पुगेपछि रकम झिकेर हिनामिना गरेको खुलेको हो। समितिले भदौ ६ गतेमात्र रकम हिनामिना भएको जानकारी पाएको थियो । चेक र निर्णय पुस्तीका आफैले राखेका नरबहादुर रावलले विभिन्न मितिमा ८ पटक किर्ते हस्ताक्षर गरि ६ लाख ९२ हजार रुपैया रकम झिकेको देखिएको छ।

२३ लाख गरिबी निवारण कोष र २ लाख साविक जुगाडा गाविसको गरी ५ लाखको लागतमा सिँचाई कुलो निर्माण गरिएको छ। २ लाख गाविस र ९ लाख ६० हजार गिफ्ट बाजुरा गरिबी निवारण कोषको रकम सामूहिक रुपमा झिकेर काममा लगानी गरिएको पाईएपनि अन्तिम किस्ता बाहेक खातामा राखिएको रकम किर्ते गरेको अध्यक्ष झुपे खड्काले बताए।

सिँचाई कुलो निर्माणका लागि २०७३ जेष्ठ देखि २०७४ जेष्ठ २८ गतेसम्म सम्झौता गरिएको छ। गरिबी निवारण कोषको रकम निकाशामा ढिलाई हुँदा भुक्तानी प्रक्रिया एक वर्ष लम्बीएको समितिले बताएको छ। निर्माणमा प्रयोग गरिएका सामाग्री र सिमेन्ट सरिया सहीतको रकम निकाशा भएपनि कामदारको रकम सचिवले किर्ते गरि कुम्ल्याएका छन्।

काम गरेको एक वर्ष ढिलो गरि रकम पाउने आश गरेपनि ठीक उल्टो सचिवले रकम थाहै नदिई हिनामिना गरेको प्रति स्थानीय आक्रोशीत बनेका छन्। समितिलाई थाहै नदीई रकम हिनामिना गरेपछि उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ। सिँचाइकुलो स्थानीय २ सय ३० परिवारलाई लक्षित गरी निर्माण गरिएको छ।

सचिव नरबहादुर रावलका नाममा किर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेको भन्दै उजुरी दिएको अध्यक्ष झुपे खड्काले बताएका छन्। यता प्रहरी नायव उपरीक्षक सागर बोहराले पनि उजुरी दिएको र त्यस बारे सरकारी वकिल कार्यालयमा कानुनी परामर्श लिन काम भईरहेका बताएका छन्।

सचिव नरबहादुर रावलको फोन भने अफ गरिएको छ । स्थानीयले आफूले पाउने रकम एक्लैलै झ्वाम पारेकोमा आक्रोशित बनेका छन्। रावललाई किर्ते गरेको प्रमाणका आधारमा कारवाही प्रक्रिया अघि बढ्ने भएको छ।

प्रकाशित: १६ भाद्र २०७५ ०९:२७ शनिबार

रकम_हिनामिना किर्ते