समाज

पानी पर्नासाथ अवरुद्ध हुन्छ राजमार्ग

पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिकाको चरौदीमा जाममा रहेका सवारीसाधन ।    तस्बिरः सरिता/नागरिक

धादिङ – आकाश मडारिएर जब पानी पर्न थाल्छ, त्यसपछि राजमार्ग अवरुद्ध हुन थाल्छ। जब पानी पर्न थाल्छ, पहिरो र लेते राजमार्गमा थुप्रिदाँ गन्तव्यमा हिँडेका सवारी साधन कतिबेला, कुन ठाउँमा रोकिन पुग्ने हो ठेगान हुँदैन।

राजमार्ग भएर विभिन्न शाखा सडक विस्तार गर्नाले र लेदो माटो झर्नाले राजमार्ग दिनहुँ जस्तो अवरुद्ध हुने गर्दछ। काम विशेषले यात्रा गर्ने यात्रुलाई निकै नै समस्या हुने गरेको स्थानीयको भनाई छ। राजमार्गसँग जोडेर गाउँ गाउँमा लगिएका सडकका कारण र राजमार्ग भन्दा माथिपट्टी अब्यवस्थित रुपमा संचालन गरिएका खानीहरूको कारण ठुलो वर्षापछि लेते आएर राजमार्गमा थुप्रिने गरेको छ।

यसले राजमार्गको सौन्दर्यलाई कुरुप बनाएको छ भने यात्रा गर्ने यात्रुलाई समेत जोखिम निम्त्याएको स्थानीय तिलक चेपाङले बताए। ‘बाटो बनाउने नाममा प्राविधिक स्टमेट बीना नै जथाभाबी डोजर चलाएको कारण पानी पर्नासाथ राजमार्गमा पहिरो र लेते जम्ने गर्छ, चेपाङले भने, ‘काम विशेषले यात्रा गर्नेहरू समस्यामा पर्ने गरेका छन्।’ राजमार्गका सडकको ग्रेडिङ नमिलाउदा वर्षायाममा कच्ची सडकबाट भल बगेर राजमार्गमा आएर थुप्रिने गरेको छ।

बेनिघाट रोराङमा रहेको जवाङखोला र तिक्राङखानीमा धेरैजसो पहिरो र लेते जम्ने गरेको छ। राजमार्गभन्दा माथिपट्टी अब्यवस्थित रुपमा संचालित हेटौँडा सिमेन्ट उद्योगको कच्चापदार्थ निकाल्ने खानी जाने बाटो भएकाले वर्खायाममा लेते राजमार्गमा आउने गरेको स्थानीयको भनाई छ। ‘मध्ये साउनको बेला, दिनहुँ पानी परिरहेको हुन्छ’, चेपाङले भने, ‘१५ मिनेट मात्रै पानी पर्यो भनेपनि जवाङखोला र तिक्राङ खानीमा राजमार्ग माथिबाट आएको ढुङ्गामाटो सहितको लेते थुप्रिएर राजमार्ग अवरुद्ध भइहाल्छ।’

वर्षातको समयमा नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू गजुरीको जहरे र चालिसे, बैरेनीको महेशदोभान, बेनिघाटको जवाङखोला, तिक्राङखानी र मौवाखोला बढी समस्या आउने ठाउँहरू हुन्। यी ठाउँमा हरेक वर्ष लेते लागेर राजमार्ग बन्द हुने र भत्किने समस्या हुँदा समेत समस्याको समाधान गर्न कतैबाट पहल भएको छैन। सडकको सुरक्षा र जिम्मेवारी लिएको सडक विभागले पनि वर्षातको बेलामा राजमार्गमा हुने अवरुद्धको दीर्घकालिन समस्या समाधान गर्न कुनै चासो देखाएको छैन भने स्थानीय सरकार सडक विभागलाई जिम्मेवारी देखाएर पन्छिने गरेका छन्।

गल्छी गाउँपालिकाको वैरेनीमा पनि पटकपटक राजमार्गमा लेते झर्ने गरेको छ। बैरेनीको महेशदोभान, जहरे र चालिसे भन्दामाथि बालुवाखानी रहेको छ। लगातारको वर्षाका कारण बालुवा बगाएर राजमार्गमा थुप्रिएपछि कस्ले बालुवा उठाउने भन्ने विवादले समेत अवरुद्ध राजमार्ग खुलाउन ढिलाइ हुने गरेको बैरेनी महेशदोभानका एक स्थानीयले बताए। ‘राजमार्गमा बालुवा आएर गाडी पुरिएको हुन्छ’, उनले भने, ‘मेरो खानीबाट बगेर आएको र मेरो जग्गाबाट बगेर आएको भनेर बालुवा उठाउन ब्यवसायीको हानथाप हुन्छ।’ अब्यवस्थित रुपमा संचालन गरिएका बालुवा खानीमा नियन्त्रण गर्न र ब्यवस्थित गराउन कसैले सकेका छैनन्।

फलस्वरुपमा बर्खायामामा यस्तो प्रत्यक्ष असर राजमार्गले भोग्ने गरेको छ। पानी पर्नासाथ प्रहरीलाई अवरुद्ध राजमार्ग खुलाउने र जाममा परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउन सकम पर्ने गरेको छ। राजमार्गमा भएको अवरोध हटाउन प्रहरीसँग गैती बेल्चाबाहेक अरु कुनै ठुलो उपकरण छैन्। पहिरो र लेतेका कारण राजमार्गमा जाम हुने बित्तिकै खुलाउनको लागि सडक विभागसँग समन्वय गरी डोजरको ब्यवस्थापन गर्नु र सडक सुचारु गराउनु जोगीमारा प्रहरीको आजकल गर्नुपर्ने दैनिक एउटा काम हो। 

राजमार्ग माथिबाट आएको लेतेको कारण पुरिएर थुप्रै सवारी साधन बिग्रीएका छन्। भागदौडमा कति यात्रु घाइते भएका छन त्यसको कुनै लेखाजोखा छैन। दिनहुँ हजारौ गाडीको आवागमन हुने राजमार्ग १ घण्टा बन्द हुँदा अस्तब्यस्त बन्ने गरेको छ। गजुरीस्थित सडक डिभिजनमा पनि पहिरो पन्छाउनको लागि थोरै मात्र उपकरण हुँदा र धेरै ठाउँमा पहिरो खस्दा राजमार्ग चाँडो खुलाउन सकिदैन। त्यसको प्रत्यक्ष असर यात्रुलाई पर्ने गरेको छ।

अझ बढी मार त एम्बुलेन्सलाई परिरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमिल्सीनाले बताए। पानी परेपछि कहाँ कतिबेला राजमार्ग अवरुद्ध हुन्छन्, शर्तक रहनुपर्छ, तिमिल्सीनाले भने, ‘पहिरो तत्काल खुलाउन नसक्दा सबैभन्दा बढी समस्या बिरामी लिएर गएका एम्बुलेन्सलाई परेको छ।’

प्रकाशित: १६ भाद्र २०७५ ०७:१० शनिबार

वर्षायामकाे_दुख पृथ्वी_राजमार्ग सवारी_साधन_अवरुद्ध