समाज

लापरवाहीले सुत्केरी मृत्यु भएको भन्दै अस्पताल तोडफोड, राजमार्ग अवरुद्ध

नमूना अस्पताल परिसरमा जम्मा भएको आक्रोशित भिड। तस्बीर : टंक क्षेत्री/नागरिक

सर्लाही – उपचारमा लापरबाही गरेकाले सुत्केरी महिलाको मृत्यु भएको भन्दै सर्लाहीको हरिवनस्थित नमूना अस्पतालमा तोडफोड भएको छ।

आक्रोशित मृतकका आफन्त, गाउँले एवम् माईतीपक्षले शनिबार बिहान अस्पतालमा तोडफोड गरेका हुन्। हरिवन नगरपालिका–४, पटौना निवासी अनकबहादुर थापाकी श्रीमति ३१ वर्षीया अप्सराको मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गरेको हो।

अहिले आक्रोशित भिडले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ। आधा घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प बन्न पुगेको छ।

सुत्केरी व्यथा लागेपछि अप्सरालाई शुक्रबार राती ७ बजे नमूना अस्पतालमा ल्याइएको र ३ घण्टाजती राखेपछि नसकिने भन्दै रिफर गरेको आफन्तले बताएका छन्। वीरगञ्जतर्फ लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो।

सुरक्षाकर्मी कम भएकाले भिड नियन्त्रण नहुँदा बिहानै अस्पतालमा तोडफोड भएको हो। इलाका प्रहरी कार्यालय हरिवनसँगै टाँसिएर रहेको अस्पताल क्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ।

प्रकाशित: १६ भाद्र २०७५ ०४:४७ शनिबार

अस्पताल_तोडफोड सुत्केरी_मृत्यु