समाज

दोषी पत्ता लगाउन माग गर्दै सदरमुकाम खलंगा बन्द

जिल्ला प्रशासन कार्यालय अगाडि टायर बाल्दै मृतक बुढ्थापाका आफन्त ।    तस्बिरः डिबी/नागरिक

जुम्ला – नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य तथा चन्दननाथ नगरपालिका २ का ४३ वर्षीय राधाकृष्ण बुढ्थापाको हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै जुम्ला सदरमुकाम खलंगा बिहानैदेखि बन्द गरिएको छ।

बन्दका कारण जुम्लाको जनजीवन प्रभावित बनेको छ। गत साउन २० गते मृत अवस्थामा फेला परेका बुढ्थापाको अनुसन्धानमा प्रहरी प्रशासनले खासै चासो नदिएको आरोप लगाउँदै स्थानीयले बन्दको आह्वान गरेका हुन।

मृतक बुढ्थापाको टाउको, माथिल्लो र तल्लो शरीरमा धारीलो हतियारको खद देखिएको थियो। घरबाट सदरमुकाम खलंगामा रहेको होटल सनलाईटमा खाजा खान निस्केका बुढ्थापाको शव होटल नजिकैको खोलामा मृत अवस्थामा भेटिएको थियो। 

प्रहरीले होटल सञ्चालक खड्कजीत रोकाया र जुम्लाबजार विजयनगर निवासी एंगल लामालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। मृतक बुढ्थापाका बुवा रामकृष्ण बुढ्थापाले छोराको हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाइदिन माग गरे। उनले भने,‘प्रहरीले अनुसन्धानका नाममा ढिलासुस्ती गर्दै आएकोले समस्या आइरहेको हो।

उनका अनुसार हत्यारा पत्ता लगाउने भन्दा पनि उन्मुक्ती दिने षडयन्त्र भइरहेको छ।  उनले दिनदहाडै हत्या र कुटपिटका घटना हुँदापनि सुरक्षा दिन नसक्नु बिडम्वना भएको प्रतिक्रिया दिए। आफ्न्तजनले किटानी जाहेरी दिइसकेका छन, त्यसैलाई आधार मानेर अनुसन्धान थालेमा हत्यारा पत्ता लाग्ने छ। तर प्रहरीले अनुसन्धानमा लापरबाही गरिरहेको आरोप उनीहरूको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी सिताराम रिजाल, बुढ्थापा घटनाको गहिरो अनुसन्धान भइरहेको बताउँछन। उनका अनुसार यो घटनाको अनुसन्धान गर्न सीआइबीको टोली जुम्ला पुगेर अनुसन्धान गरिरहेको छ।    

प्रहरी निरीक्षक बरुण सिंहको नेतृत्वमा दुई जनाको सीआइबी टोली जुम्ला पुगेको हो।  मृतक बुढ्थापाका आफन्तजनले गरेको बन्दका कारण सवारी आवागमन ठप्प भएको छ। बजारमा कुनै चल पहल छैन। सडकमा टायर बाल्नेदेखि नारा जुलुस गर्ने काम भइरहेको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि प्रदर्शनकारीले जुलुस निकालेका हुन।

प्रकाशित: १५ भाद्र २०७५ ०८:५९ शुक्रबार

खलंगा_बन्द राधाकृष्ण_बुढ्थापा दाेषी_पत्ता_लगाउन_माग