समाज

सृजनको विश्वकीर्तिमान

काठमाडौं - भक्तपुरका २० वर्षीय सृजन तिमिलसिनाले विश्वकै सबैभन्दा लामो शीर्षकमा किताब लेखेर विश्व कीर्तिमान कायम राख्न सफल भएका छन्। सृजनले मस्तिष्कको विकासका बारेमा ५० पृष्ठको किताब लेखेका छन् । ‘द ब्रेन’ उपशीर्षक दिइएको उक्त पुस्तकको शीर्षकमा १ हजार ८ सय ९ शब्द र ११ हजार २ सय ८४ क्यारेक्टर छन्।

गिनिज वल्र्ड रेकर्डले सृजनलाई उनको कृतिले विश्वकै सबैभन्दा लामो शीर्षक भएको पुस्तकको उपाधि जित्न सफल भएको प्रमाणपत्र उपलब्ध गराएको छ । यसअघि यस्तो कीर्तिमान कायम पुस्तकको शीर्षकमा ६ हजार ६७ क्यारेक्टर रहेको गिनिज वल्र्ड रेकर्डको वेबसाइटमा उल्लेख छ।

सृजनले मस्तिष्कको विकासका बारेमा ५० पृष्ठको किताब लेखेका छन् । ‘द ब्रेन’ उपशीर्षक दिइएको उक्त पुस्तकको शीर्षकमा १ हजार ८ सय ९ शब्द र ११ हजार २ सय ८४ क्यारेक्टर छन् ।

सृजनले ८ कक्षामा पढ्दा देखि नै आफूले किताब लेख्न सुरु गरेको बताए । ‘२०६७ को सुरुमा मैले किताब लेख्न थाली त्यही वर्षको अन्त्यमा पूरा गरेको थिएँ,’ सृजनले नागरिकसँग भने, ‘कक्षा ९ मा पुग्दा बागबजार छापाखानाले किताब प्रकाशन ग¥यो ।’ उनले थपे, ‘म सानो छँदा मेरो सिर्जनात्मक क्षमतालाई एकजना दाइले ‘विश्वकीर्तिमानीजस्तै रहेको’ भन्नुभएको थियो । उहाँको त्यही भनाइले मलाई विश्वकीर्तिमान कायम गर्न हौस्याएको हो ।’ उनले स्कुल पढ्दा लामो समयसम्म हात मिलाएर विश्वकीर्तिमान कायम गरेका रोहित तिमिलसिनालाई भेटे । ‘त्यसपछि गिनिज वल्र्ड रेकर्डमा जाने प्रक्रिया थाहा भयो । २०६८ मै चारवटा विधामा वल्र्ड रेकर्ड राख्न फाराम भरेको थिएँ । त्यसमध्ये लामो शीर्षक विधा स्वीकृत भएको हो’, उनले भने।

हाल उनी इमाडोलमा रहेको किस्ट मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्षका विद्यार्थी हुन् । सिर्जनले कक्षा ११ र १२ विज्ञान विषय लिई सेन्टजेभियर्स कलेजमा अध्ययन गरे । कलेजका प्रधानाचार्य फादर जिजुले सृजन कलेज समयदेखि नै सिर्जनशील र मेहनती भएको बताए । स्कुलले गिनिज वल्र्ड रेकर्डबाट प्राप्त प्रमाणपत्र बिहीबार सृजनलाई हस्तान्तरण गर्ने कार्यक्रम बनाएको छ । हाल सृजन इमाडोलमा रहेको किस्ट मेडिकल कलेजका एमबिबिएस तेस्रो वर्षका विद्यार्थी हुन् । मुटुको डाक्टर बन्ने लक्ष्य उनको छ।

सृजनका बुवा सन्तोष तिमिलसिनाले सानैदेखि छोराको रुचि मानव विकाससम्बन्धी खोजमूलक सामग्रीको अध्ययनमा रहेको बताए । उनले भने, ‘छोराको मेहनत सफल भएको देख्दा गर्व महसुस भइरहेको छ ।’ सृजनको आमा संगीता खरेलले छोराले सानै उमेरमा सफलता हासिल गरेकोमा खुसी व्यक्त गरिन्।

प्रकाशित: १४ भाद्र २०७५ ०४:०९ बिहीबार

पुस्तक_लेखन विश्वकीर्तिमान सृजन_तिमिलसिना