समाज

आठ महिने शिशुका हत्यारा अझै पक्राउ पर्न सकेनन्

महोत्तरी- खेलाउने बहानामा आमाको काखैबाट अपहरित आठ महिने शिशुको हत्यारालाई प्रहरीले अझै पनि पक्राउ गर्न सकेको छैन। घटना भएको चार दिन भइ सकेपनि अपराधी पक्राउ पर्न नसक्दा स्थानीय आक्रोशित देखिएका छन्।

प्रहरीको प्राराम्भीक अनुसन्धानमा औरही १ स्थित सिद्धान्त फैन्सि एण्ड रेडिमेड पसलबाट शिशु सोनाली चौधरीलाई अपहरण गरि लगि रहेको दृश्य सहितको ससिटिभि फुटेज र घटनास्थलबाट बरामद भएको कपडाले भंगहा सितापुर ६ हतिसर्वाका २५ वर्षिय युवक भरत साहको अपहरण र हत्यामा संलग्नता स्पष्ट देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी ईश्वर कार्कीले बताए।

‘अपहरण भएकै दिनदेखि नै निरन्तररुपमा घटना सम्बन्धि अनुसन्धान गर्दै जाँदा भंगहा सितापुर ६ हतिसर्वाका २५ वर्षिय युवक भरत साहकै घटनामा संलग्नता रहेको निष्कर्षमा हामी पुगेका छौं’ एसपी कार्कीले भने ‘ युवक साहको व्यापक खोजि भई रहेको छ, चाँडो भन्दा चाँडो उनलाई पक्राउ गर्न हामी लागि परेका छौं।’

महोत्तरीमा मात्र नभई छिमेकी जिल्ला धनुषासंग पनि सहकार्य गरेर अपराधिलाई पक्रन टोलि परिचालन गरिएको र अपराधिलाई छिटै नै पक्राउ गरि सक्ने एसपी कार्कीले दावी गरे।

८ महिने शिशुको हत्याको यकिन कारण भने अझै पनि खुल्न सकेको छैन। ‘पोष्टमार्टमको रिर्पोट नआउन्जेल  हत्याको कारण ठयाक्कै यहि हो भन्न नसकिने भएकाले हामी रिर्पोटको प्रतिक्षामा छौं’ एसपी कार्कीले थपे ‘यहि साता भित्रै पोष्मार्टमको रिपोर्ट आए लगतै हत्याको कारण र थपकुरा पनि सार्वजनिक गर्छौं। ’  

यसैबीच आठ महिने शिशुलाई अपहरण पश्चात हत्याको घटना भएको चार दिन वित्ति सक्दा समेत प्रहरीले अपराधिलाई पक्राउ गर्न नसके पछि आक्रोशित औरहीका स्थानियले बुधबार विहानैदेखि औरही बजार बन्द गरि आन्दोलनमा उत्रेका छन्।

औरही नगरपालिका १ स्थित औरही बजारमा रहेको सिद्धान्त फैन्सि एण्ड रेडिमेड पसलबाट पसलका सञ्चालक सन्तोष चौधरीकी ८ महिने छोरी सोनालि चौधरीको गएको आईतबार अपहरणपछि हत्या भएको थियो।

शिशुको शव गएको सोमबार बजार भन्दा २ किलोमिटर टाढा भंगहा नगरपालिका स्थित मेघनाथ गोरहन्ना अन्तर्गत पर्ने अँकुसी नदि भन्दा पश्चिममा रहेको फेकु चौधरीको फुलवारीमा रहेको आँपको रुख मुनी फेला परेको थियो।

चार दिन भइ सक्दा समेत अपराधि पक्राउ गर्न नसकेको भन्दै उद्योग वाणिज्य संघ औरहीको अगुवाईमा स्थानीयले बर्दिबास–जलेश्वर सडक खण्ड अवरुद्ध पार्नुका साथै बजार बन्द गरेर आन्दोलित भएका हुन्। आन्दोलनको कारण सो सडक भएर सवारी आवागमन ठप्प भएको छ। 

उवासंघ औरहीका अध्यक्ष श्रवण चौधरीले हामीले प्रहरीलाई सिसिटि फुटेज लगायत अपराधिको नाम ठेगाना समेत उपलब्ध गराए पनि प्रहरीले पक्राउ गर्न नसकेकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए। स्थानीयको आन्दोलनका कारण औरही बजारमा रहेको हाट, पसल, शिक्षण संस्था समेत बन्द रहेको छ।

प्रकाशित: १३ भाद्र २०७५ १०:४८ बुधबार

शिशु अपहरण हत्या