समाज

निर्मला हत्यापछि छात्रा त्रसित

उल्टाखाम (महेन्द्रनगर) – निर्मला पन्तको हत्यापछि उनका साथीहरू त्रसित भएका छन् । बलात्कारपछि मृत्युको मुखमा पुर्याइएकी १३ वर्षीया निर्मला भीमदत्त नगरपालिका–२, उल्टाखामस्थित सरस्वती माध्यमिक विद्यालयमा पढ्दै थिइन् । सँगै पढ्ने साथी निर्मलाको बलात्कारपछि हत्या भएपछि उनीहरूमा मानसिक त्रास देखिन थालेको हो।

एउटै कक्षामा पढ्ने साथीको बलात्कारपछि हत्या भएपछि पढ्न मन लाग्न छाडेको विद्यालयकी छात्रा लक्ष्मी बडूले बताइन् । उनले भनिन्, ‘कक्षाकोठामा बस्नेबित्तिकै निर्मलाको अनुहार सम्झना आउन थाल्छ ।’ घटनापछि खान र सुत्न पनि मन लाग्न छाडेको उनले बताइन् । विद्यालयका कतिपय विद्यार्थीलाई निर्मलाको शव भेटिएको उखुबारीकै छेउ भएर दैनिक विद्यालय आउजाउ गर्नुपर्छ।

उखुबारी छेउ पुगेपछि निर्मलाको सम्झना आउने गरेको अर्की छात्रा पूजा चौधरीले बताइन् । उनले भनिन्, ‘उखुबारी आउनेबित्तिकै निर्मलाको शव भेटिएको स्थानतर्फ हेर्ने मन लाग्छ ।’ नजिकै कुलो र पारि उखुबारी भएकाले घटनास्थलनजिक डर पनि उत्तिकै लाग्ने गरेको उनले सुनाइन् । ‘कुलोको छेउछाउमा जामुनका बोट र झाडी भएकाले डरैडरले विद्यालय आउनेजाने गर्छु,’ उनले भनिन्, ‘घटनास्थलनेर पुग्दा मन झसंग हुने गर्छ।’

निर्मलाको हत्यापछि आफूहरु मानसिक तनावमा रहेको कक्षा ९ का छात्रा बताउँछन् । ९ कक्षामै पढ्ने निर्मलाको साउन ११ गते शव भेटिएदेखि आफूहरु पनि डराउन थालेको ज्योति जोशीले बताइन् । उनले भनिन्, ‘हाम्रै उमेरकी निर्मलाको त्यस्तो हालत भएको देख्दा कतै हामीमा पनि त्यस्तो अवस्था आउने त हैन भन्ने चिन्ता लागिरहन्छ ।’ निर्मलाका वास्तविक हत्यारालाई खोजी हदैसम्मको कारबाही गरिनुपर्ने उनले बताइन् । ‘वास्तविक दोषी पत्ता नलागे भोलि त्यो व्यक्तिको मनोबल बढ्छ,’ उनले भनिन्, ‘के थाहा, त्यसले हामीलाई पनि त्यस्तै गर्ने पो हो कि ?’ निर्मला एक असल साथी रहेको बताउँदै छात्रा पूर्णिमा भट्टले भनिन्, ‘ऊ हरेक कुरामा ट्यालेन्ट थिई र सबैसँग मिल्न सक्थी ।’ एक असल साथी गुमाउँदाको पीडा खपीनसक्नु भएको उनले बताइन्।

सरस्वती माध्यमिक विद्यालयमा सँगै अध्ययनरत् साथी निर्मलाको हत्या भएपछि उनका सहपाठीमा अचानक डराउने समस्या देखिन थालेको छ।

निर्मलाको हत्यापछि हिजोआज कक्षा कोठामा खाली समयमा उनकै बारेमा कुराकानी हुने गरेको रेजिना चौधरीले बताइन् । ‘घटनाका वास्तविक दोषीले कडाभन्दा कडा कारबाही भोग्नुपर्छ,’ उनले भनिन्, ‘निर्दोषलाई छोडिनुपर्छ ।’ निर्मलाको हत्या भएको उखुबारीनजिकैको झाडी सरसफाइ गरेर प्रहरी बिटको स्थापना भएमात्रै आफूहरु स्कुल आउँदाजाँदा सुरक्षित भएको महसुस गर्ने उनले बताइन् । अचेल राति सपनामा पनि निर्मलासँगै पढेको र खेलेको सपना देख्ने गरेको अर्चना चौधरीले बताइन् । उनले भनिन्, ‘रातिराति सपनामा पनि निर्मलालाई नै देख्छु, ब्युँझँदा डर लाग्छ।’

विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डेयले निर्मला पन्तको हत्यापछि विद्यार्थीमा मानसिक त्रास बढेको बताए । ‘यो घटनापछि विद्यालयका छात्रा एकोहोरिने र टोलाउने गर्न थालेका छन्,’ उनले भने । सुरुसुरुका दिनमा छात्राले पढ्नै मन नलागेको बताएपछि उनीहरुलाई ‘रिफ्रेस’ गर्न शिक्षकले उत्साहजनक कथा सुनाउन थालेको उनले बताए।

पाण्डेयले भने, ‘मनोवैज्ञानिक रुपमा छात्रामा डर पस्यो, डर भगाउन उत्साहजनक कथाहरु सुनाउँदैछौं ।’ विद्यार्थीले पनि पटकपटक निर्मलाको हत्यारा पत्ता लाग्यो लागेन भनेर शिक्षकलाई सोध्ने गरेको उनले बताए । ‘निर्मलाको हत्यारा पत्ता लागेपछि त्रसित बनेको छात्रामा थोरै भए पनि मानसिक त्रास कम हुन्थ्यो कि’, उनले भने । पाण्डेयले घटनापछि छोरीहरुले असुरक्षित महसुस गर्न थालेको बताए।

प्रकाशित: १३ भाद्र २०७५ ०१:२९ बुधबार

निर्मलाका_साथी सरस्वती_मावि मानसिक_त्रास