समाज

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले डुंगा दुर्घटना : नेकपा

पप्पु कन्स्ट्रक्सनलार्इ कार्वाहिकाे माग गर्दै गरिएकाे प्रदर्शन । तस्विर : मदन/नागरिक

राैतहट - पप्पु कन्स्ट्रक्सनको लापरबाहीले लालबकैया नदीको टिकुलीया घाटमा डुंगा दुर्घटना भएको भन्दै नेकपा रौतहटले सम्बन्धित निर्माण कम्पनीलाई कार्वाहीको माग गरेको छ। निर्माण कम्पनीले बन्जरहा र टिकुलीया जोड्ने पुल निर्माण गरिसक्ने समय सिमा समाप्त भइसक्दा समेत निर्माणमा ढिलाई र लापरबाही गरेका कारण दुर्घटना भएको नेकपाको ठहर छ।

नेकपाले यस्तो संवेदनशिल क्षेत्रमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै रौतहट सदरमुकाम गौरमा प्रदर्शन समेत गरेको छ। प्रदर्शन पछि नेकपाले प्रमुख जिल्ला अधिकारीलाई सोमवार ज्ञापन पत्र समेत बुझाएको छ। समयमा पुल नबन्दा स्थानीयले प्रत्येक दिन ज्यानको बाजी थापेर नदी वारपार गर्नुपरिरेको तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै नेकपाले नदीहरुका पुराना तथा जीर्ण भएका डुंगा सञ्चालन भइरहँदा समेत सम्बन्धित निकायको ध्यान नजानु दुःखद भएको उल्लेख गरेको छ।

पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय ५० रुपैयाँमा ठेक्का स्विकारेको थियो। २०७४ असार २५ भित्र काम सक्ने सम्झौता भएपनि हालसम्म पुल निर्माणको काम सम्पन्न भएको छैन। लालबकैया नदीमा गत शनिवार डुंगा दुर्घटना भएको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App