समाज

घरबाट चोरी भएकी बालिकाको शव भेटियो

महोत्तरी- औरही नगरपालिका १ बाट अपरिचित व्यक्तिले चोरेर लगेको ७ महिने बालिकाको शव फेला परेको छ। औरही ७ घर भएका संतोष चाैधरीको ७ महिने छोरी सोनालीलाई आईतबार साँझ औरही १ स्थित फेन्सी पसलबाट अपरिचत व्यक्तिले चोरेर लगेको थियो।

ती वालिकाको सोमबार अपराह्न औरही १ मै रहेको पोखरी नजिकको खेतमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी इश्वर कार्कीले बताए।

आईतबार साँझ साढे ६ बजेतिर सन्तोषकै श्रीमतिले संचालन गरेको आफ्नो फेन्सी पसलमा बालिकालाई राखेर खेलाइरहेकी थिइन्। पसलमा ग्राहकहरु आएपछि संतोषकी श्रीमतीले ग्राहकलाई समान दिन थालेपछि सोहि मौका छोपि अपरचित व्यक्तिले बालिकालाई उठाएर भागेको पीडितको भनाई छ।

बच्चा लिएर भाग्ने पुरुष मान्छे रहेको पसलमा जडान भएको सिसिटिभी क्यामराको फुटेजमा पनि बालिकालाई ती पुरुषले उठाएर लगेको स्पष्ट देखिएको प्रहरीले जनाएको छ।

चोरीएको बच्चाको आईतबार साँझदेखि खोजि कार्य तिब्र पारिए पनि बालिकाको शव सोमबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ। बालिकाको मृत्युको कारण पोष्टमार्टम पश्चात मात्र खुल्ने एसपी कार्कीले बताए।

‘सानो बालिका भएकोले उनको हत्या गरिएको हो अथवा भोकले मरेको यकिन साथ भन्न नसकिने अवस्था रहेकोले पोष्टमार्टम पश्चात कारण खुल्ने छ’ एसपी कार्कीले भने ‘बच्चा चोरेर लाने पुरुषको खोजी भई रहेको छ।’

 

 

प्रकाशित: ११ भाद्र २०७५ ०९:१५ सोमबार

बालिका चोरी शव