समाज

विमानस्थलमा यात्रु बाहेकलार्इ प्रवेशमा कडार्इ

काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ।

विमानस्थलले बिमस्टेक सम्मेलन देशकै प्रतिष्ठाका रुपमा महत्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्षा तथा सहजीकरणका लागि यात्रु बाहेकका आगन्तुकको प्रवेश निषेध गरेकाे छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलले यात्रु स्वयं सक्षम भएको अवस्थामा सहयोगीको जरुरत नपर्ने हुँदा अनावश्यक व्यक्ति प्रवेश नगर्न अनुरोध गरेको छ।

कुनै यात्रु बिरामी, अशक्त, सहयोगी नभई नहुने अवस्था भएमा मात्रै एक जना सहयोगी प्रवेश गर्न सक्नेछन्। यात्रुबाहेक अन्य व्यक्तिलाई प्रवेश सुविधा सम्मेलन अवधिभर नहुने विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिए।

मुख्य द्वार नजिकै प्रहरी चेकिङ स्थलमा अत्यावश्यक सहयोगीले आफ्नो प्रवेशका कारण बताएर मात्रै विमानस्थल प्रवेश गर्न सक्नेछन। सहयोगीको रुपमा भित्र प्रवेश गरेको व्यक्तिले यात्रु चेकिङका लागि डिपार्चरतर्फ लामबद्ध हुनासाथ (१०–१५ मिनेट सम्ममा) विमानस्थलबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ।

विमानस्थलमा सेवाप्रदायक व्यक्तिका सवारी साधनबाहेक अन्य यात्रु संबद्ध सवारी साधनको हकमा यात्रु लिइ आउने जुनसुकै साधनलार्इ यात्रु वा समान अवतरण गर्नासाथ पार्किङतर्फ नगई तत्कालै बाहिर प्रस्थान गर्न अनुरोध गरिएको छ।

विमानस्थलमा पास भएका वा परिचयपत्र भएका तथा यात्रु लिइ आएका बाहेक अन्य खाली ट्याक्सीलाई प्रवेश निषेध भएकाले रिङरोड नजिकको विमानस्थल प्रवेसद्वारबाट प्रवेश नगर्न समेत अनुरोध गरिएकाे छ।

यात्रुसँग पहिले नै सम्पर्क/पहिचान भई लिन आउने होटलका वा निजी गाडीको हकमा जहाज अवतरणको ५ देखि १० मिनेटअघि मात्र प्रवेश भई यात्रु लिएर तत्काल फिर्ता हुन आग्रह गरिएकाे छ। रासस

प्रकाशित: १० भाद्र २०७५ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App