समाज

आर्थिक समृद्धिका लागि जुम्ला लगानी सम्मेलन

जुम्ला – जुम्लाको आर्थिक समृद्धिको लागि जुम्ला लगानी सम्मेलनको तीव्र तयारी भइरहेको छ। ‘विकास सामथ्र्यको उजागार’ भन्ने नाराका साथ भदौ २९ गते चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयको हलमा लगानी सम्मेलनको तयारी भइरहेको चन्दननाथ नगरपालिका जुम्लाले जनाएको छ। 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय  र चन्दननाथ नगरपालिकाको संयुक्त आयोजनामा लगानी सम्मेलन हुन लागेको मेयर कान्तिका सेजुवालले बताइन। लगानी सम्मेलनको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने छन।

मेयर सेजुवालले भनिन, अर्थमन्त्री ज्यू ले दिएको समय अनुसार जुम्लामै पहिलो पटक लगानी सम्मेलन गर्न लागेका हौ, यो नै यहाँको विकासको प्रतिबिम्ब सावित हुनेछ। लगानी सम्मेलन जुम्ला विकासको आधार हुनेछ, त्यसै आधारमा टेकेर यहाँको विकास अघि बढ्ने छ। अर्थमन्त्री खतिवडा सहित मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोग, विभिन्न देशका राजदुत, उद्योगी, व्यवसायी सबैलाई निम्ता गरिएको छ। 

आर्थिक उन्नतीका लागि लगानी सम्मेलन गर्दैैैछौँ, थोरै लगानीले धेरै काम गर्ने मनसायका साथ जुम्ला लगानी सम्मेलनको डिजाइन भएको छ, मेयर सेजुवालले भन्नि, ‘यो सम्मेलन मार्फत लगानी कर्ताको वेसलाइन सर्भे हुनेछ, जुम्लालाई चिनाउने एक अस्त्र बन्ने छ र संघिय सरकारले जुम्लालाई समान दृष्टिकोणले हेर्न सक्ने वातावरणको सिर्जना हुने छ।’

जुम्लामा कैयौं पर्यटकिय गन्तव्य छन, थरिथरीका जडिवुटी छन, उनले भन्नि, ‘यीनीहरूको प्रचार प्रसार नहुँदा त्यतिकै खेर गइरहेका छन, यो लगानी सम्मेलनका माध्यमबाट पर्यटकिय गन्तव्यको पहिचान गर्ने र यहाँ उत्पादित औषधीजन्य जडिवुटीको प्रशोधन र बजारीकरणमा सघाउ पुग्ने छ।’ 

यहाँ आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकिय दृष्टिले थुप्रै सम्भावना छन, ती सम्भावनाको उजागार गर्ने केन्द्रका रुपमा जुम्ला लगानी सम्मेलनलाई हेरिएको छ। लगानी सम्मेलनमा यहाँको यथार्थ समावेश गरिएको कार्यपत्र प्रस्तुत हुनेछ। कार्यपत्र निर्माणका लागि जिल्लाका विशेषज्ञलाई परिचालन गरिएको छ।   

लगानी सम्मेलनमा ३ सय जनाको उपस्थिती हुनेछ। सम्मेलनमा सहभागिताका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र उद्योगी व्यवसायीलाई निम्ता गरिएको छ। जुम्लामा एक नगरपालिका सहित ७ वटा गाउँपालिका छन्। सबै स्थानीय सरकारले यहाँको सम्भावना र विकासको खाका तयार गरेर प्रस्तुत गर्नेछन। 

प्रकाशित: ९ भाद्र २०७५ १०:३० शनिबार

जुम्ला लगानी_सम्मेलन आर्थिक_समृद्धि