समाज

विश्वकर्मालार्इ तीन दिन थुनामा राख्न नुवाकोट अदालतको आदेश

विश्वकर्मालार्इ अदालत लगिदै।

नुवाकोट - विहिबार राती काठमाडौंबाट पक्राउ गरी नुवाकोट ल्याइएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई तीन दिन थुनामा राख्न नुवाकोट अदालतले अनुमती प्रदान गरेको छ। दुई थान स्काभेक्टरमा आगजनी गरिएको अभियोगमा उनलाई जिल्ला अदालत नुवाकोटले थुनामा राखि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुमती दिएको हो। 

साउन ७ गते बेलकोटगढी नगरपालिका– ९ स्थित धमले–दुईपिपल सडक निर्माण गर्ने नागार्जुन कन्सट्रक्सन प्रालिको दुई थान स्काभेक्टरमा आगजनी भएको थियो। ती दुई स्काभेक्टरमा विश्वकर्माको नेतृत्वमा आगजानी भएको भन्ने अभियोग लागेकोले अनुसन्धान गर्न नुवाकोट प्रहरी कार्यालयले ७ दिनको म्याद  थप गर्ने अनुमती मागे पनि जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले तीन दिनको अनुमति दिएका हुन्। 

जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमती दिदा झण्डै तीन वर्ष पछि नुवाकोटमा पाइला टेकेको प्रतिक्रिया विश्वकर्माले दिएका छन्। इस्काभेक्टरको आगजानीमा आफ्नो संलग्नता नभएको भन्दै उनले भने, “बर्तमान सरकारसँग मेरो पार्टीको सहकार्य छैन। सड्यन्त्र गरेर मलाई र पार्टीलाई फसाउन लागेको हो, म नुवाकोट नआएकै दुई तीन वर्ष भइसक्यो। कसरी मेरो नेतृत्वमा स्काभेक्टरमा आगो लाग्छ?” 

नागार्जुन कन्सट्रक्सन प्रालिले स्काभेक्टरमा आगलागी हुनु अघि विश्वकर्मा नेतृत्वले चन्दा मागेको र नदिए पछि घटना घटाएको भन्ने विषयमा मुद्धा दर्ता भएको जनाएको छ। आगजानीको घटना गराउने क्रममा विश्वकर्मा सहित १५ जनाको संलग्नता भएको  भन्ने मुद्धा दर्ता भएको थियो। उनलाई ६ महिना कैद र दुई करोड २३ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबी सहित अदालतमा आगजनी मुद्धा दर्ता गरिएको छ।

अदालतले दिएको समयमा सत्यतथ्य बाहिरिने गरि अनुसन्धान गर्ने  नुवाकोट प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिए। 

यसैविच विश्वकर्माले सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरार्एका छन्। विश्वकर्माका तर्फबाट उनका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए। गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै थुनामुक्त गर्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई विपक्षी बनाइएको छ। 

प्रकाशित: ८ भाद्र २०७५ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App