समाज

नेकपा अध्यक्षको नाम टुंगो लागेन

रुकुम (पश्चिम)– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमको जिल्ला कमिटी छनोटमा सहमति हुन् सकेको छैन्। अध्यक्षमा पूर्व एमाले र माओवादी केन्द्रका नेताहरूले दाबी गरेपछि पार्टी केन्द्रले दिएको समय सीमाभित्र सहमति हुन नसकेको हो। 

जिल्ला अध्यक्षका लागि पूर्व एमालेका जिल्ला अध्यक्ष बिमलकुमार पुन र पूर्व माओवादी केन्द्रका नेता महेन्द्र केसी, दिपेन्द्र विक र चन्द्रबहादुर विकले दाबी गर्दै आएका छन्। सर्वसम्वत सहमति हुन् नसक्दा उनीहरूको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको नेकपाका एक नेताले बताए। नेताहरू बीच बारम्बार सहमतिको लागि प्रयास गरिए पनि अध्यक्षका लागि टुंगो लाग्न नसकेको अध्यक्षका दाबेदार तथा पूर्व नेकपा एमालेका जिल्ला अध्यक्ष बिमलकुमार पुनले बताए।

‘मैले पहिले नै पार्टीको जिल्ला अध्यक्ष भएर काम गरे त्यसैले पनि मेरो दाबी हो,’ उनले भने, ‘तर पार्टी केन्द्रले सबै जिल्लामा भागबण्डाका आधारमा नेतृत्व छनोट गर्ने भएकाले अहिलेनै केही भन्न सकिँदैन्।’ जिल्लामा २०६४ सालदेखि अहिलेसम्मका सबै निर्वाचनमा माओवादी केन्द्रले एक्लौटी जित हासिल गर्दै आएको छ। गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा समेत यहाँका ६ वटा स्थानीय तह सबैमा उसले नै जितेको थियो। यहाँ पूर्व एमाले भन्दा माओवादी केन्द्रका संगठन राम्रो भएका कारण जिल्लाको नेतृत्व माओवादीले पाउनुपर्ने माओवादीका नेताहरूको भनाइ छ। अन्य जिल्लामा एमालेले नेतृत्व लिए पनि रुकुममा भने आफूले नै पार्टीले नेतृत्व गर्नुपर्ने पूर्व माओवादीका नेता एवम् अध्यक्षका दाबेदार महेन्द्र केसीले बताए।

जिल्ला अध्यक्षमा पूर्व माओवादी केन्द्रको तर्फबाट हुने र सचिवमा पूर्व एमालेको भागमा पर्ने सम्भावना रहेको केसीले बताए। प्रदेश र केन्द्रमा पठाइएको सिफारिसमा पनि एक नम्बरमा केसीको र २ नम्बरमा पुनको नाम पठाइएको छ।  
जिल्ला पार्टी एकता संयोजन समितिका प्रमुख नेता राजकुमार शर्मा यस विषयमा बोल्न चाहेनन्। ‘यो हाम्रो पार्टीको आन्तरिक कुरा हो,’ उनले भने, ‘अहिले नै सिफारिस गरिएको कुरा सार्वजनिक गर्न मिल्दैन्।’

प्रकाशित: ८ भाद्र २०७५ १०:०५ शुक्रबार

नेकपा अध्यक्ष रूकुम_पश्चिम