समाज

ग्यास छाडी गोबरतिर

फाइल फाेटाे

काठमाडौं - यता ग्यास उडेको उड्यै, उता प्रधानमन्त्री केपी शर्मा ओली गोबरग्यासको पाइप खोल्दै ! विराटनगरमा गोबरग्यासबाट उत्पादित ग्यास पाइपलाइनबाट वितरण गर्ने कृष्ण गौसेवा सदनले तयार गरेको वितरण प्रणाली उद्घाटन गरिएको चर्चा चुलिँदा काठमाडौं उपत्यकामा भेटिएका प्राकृतिक ग्यासका खानीको बेवास्ता भइरहेको छ।

उपत्यकाका टेकु, इमाडोल, सातदोबाटो र लुभुमा भेटिएका प्राकृतिक ग्यासको उत्पादन र वितरणको हल्ला चलाइए पनि काममा कुनै प्रगति भएको छैन। टेकुस्थित प्राकृतिक ग्यास केन्द्रमा पाइप जडान गरी निश्चित स्थानमा सुरक्षा घेरा बनाइएको छ। त्यहाँ ग्यास चुहावट भइरहेको छ।

नागरिककर्मी टेकुस्थित पचली भैरवपछाडि पुग्दा ग्यास खानीमा पाइप जडान गरिएको स्थानमा चुहावट स्पष्ट देखिन्थ्यो। ग्यास चुहावट भएको जमिनको सतहमा पानी बगिरहेको छ। उक्त स्थानमा पर्खालले घेरी सुरक्षाकर्मीको व्यवस्था गरिएकोबाहेक कोही भेटिएनन्। झाडीले छोप्दै गरेको ग्यासको पुरानो ठूलो ट्यांकी खियाले खाएको र नयाँ ट्यांकी जडान गरे पनि त्यसको उचित जगेर्ना गरिएको छैन। इमाडोलमा पनि ग्यास चुहावट भइरहको छ भने सातदोबाटो र लुभुको अवस्था उस्तै छ।

नाकाबन्दीका बेला लुभु र सातदोबाटोमा स्थानीयले ग्यास खानीबाट चुहावट गराएर खाना बनाएको भेटिएपछि खानी तथा भूगर्भ विभागको कर्मचारी पुगेर बन्द गराएका थिए। त्यसपछि, मन्त्रीसहितको टोली अवलोकन गरी चर्चा चलाउनेबाहेक ग्यास उत्पादन र वितरणका लागि काम हुन सकेन। आफ्नै स्रोतको सदुपयोग त परै जाओस् सुरक्षा पनि गर्न नसक्दा ग्यास पाइपलाइन काठमाडौं उपत्यकावासीका लागि गफ बन्दै गएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार ग्यास उत्पादन र वितरणका लागि आवश्यक काम गर्न पर्याप्त बजेट विनियोजन गरिएको छैन । ड्रिलिङ गर्न ५० लाख बजेट विनियोजन भएबमोजिम काममा कुनै प्रगति भएको छैन । ग्यास उत्पादन र वितरण त परै जाओस् खानी भएको स्थानको सुरक्षा र जगेर्नासमेत उचित नभएको खानी तथा भूगर्भ विभागका कर्मचारी स्वीकार्छन्।

जथाभाबी घर तथा भवन निर्माण, डिप बोरिङ, इनार खन्ने प्रवृत्तिका कारण ग्यास उत्पादन र वितरणको सम्भावना उपत्यकाभित्र घट्दै गएको छ। कुनै बेला घरघरमा ग्यास पाइपलाइनको हल्ला गरेर केही काम गर्न खोजिएको देखाए पनि वास्तविकतामा कुनै प्रगति नभएको ग्यास खानी भएका स्थानको अवस्थाबाट बुझ्न सकिन्छ।

सातदोबाटो, इमालोड र लुभुको ग्यास खानीको पछिल्लो अवस्थाबारे विभागका उच्च अधिकारीसमेत जानकार छैनन् । टेकुमा केही काम गर्न खोजे पनि परिणाम उन्मुख देखिँदैन। यसबाट ग्यास उत्पादन र वितरणमा जिम्मेवार निकायको पूरै बेवास्ता देखिन्छ। पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ पुसमा ओलीले घरघरमा ग्यास पाइपलाइनको नारा दिएपछि तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे ग्यास खानीमा पुगेर मिडियामा छाएका थिए। हल्लामात्र गर्ने तर परिणाम दिने गरी काम नगर्ने प्रवृत्तिले देशमा भएका ग्यास र खनिजको सदुपयोग हुन सकेको छैन।

मंगलबार विराटनगर पुगी प्रधानमन्त्री ओलीले गोबरग्यासको पाइपलाइन उद्घाटन गर्दा उनको सपना साकार भएको भन्दै चर्चा भएको थियो। सरकारी निकायको उदासीनताका कारण ग्यास खेर गइरहेको छ।

घरघरमा पाइपबाट ग्यास पु-याउने नाराले ओली कुनै बेला चर्चामा पुगेका थिए। उनी प्रधानमन्त्री भएको बखत टेकु र इमाडोलमा ग्यास उत्पादन तथा वितरण गर्ने पहल थाल्ने भनिए पनि ठोस काम नभएको अहिलेको अवस्थाबाट थाहा हुन्छ । नाकाबन्दीको बखत ग्यास र पेट्रोलियम पदार्थ अभाव हुँदा प्राकृतिक ग्यास उत्पादन र वितरण गर्ने विषय अगाडि सारेर चर्चा चलाइएको थियो। राजनीतिक तहबाट अवलोकन र कामको निर्देशनबाहेक बजेट विनियोजन र काम गर्ने वातावरण नबन्दा ग्यास उडेर वायुमण्डलमा मिसिइरहेको छ।

प्रकाशित: ८ भाद्र २०७५ ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App