समाज

विश्वकर्मालाई रिहा गर्न सर्वोच्चकाे अादेश, परिसरबाटै पक्राउ

काठमाडाैं - सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय केदारप्रसाद चालीसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विश्वकर्मालाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा रिहा भएका उनलाई प्रहरीले पुन पक्राउ गरेको छ। उनलाई भोजपुरमा भएको बम विष्फोटको आरोप लगाइएको छ।

विश्वकर्मालाई प्रहरीले भदौ १ गते सर्वोच्च अदालत परिसरबाट दोश्रो पटक आगजनी मुद्दामा पक्राउ गरेको थियो।विश्वकर्मालाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनका भाइ विरेन्द्र विकले गत आइतवार रिहाइको मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।

यसअघि ७ करोड बराबरको चन्दा असुली अभियोगमा विश्वकर्मा साउन २२ गते चाल्नाखेलबाट पक्राउ परेका थिए। तर उनीमाथि लागेका आरोप पुष्टि हुने आधार नदेखिएको भन्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो। रिहा भएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले अदालत परिसरबाटै विश्वकर्मालाई पक्राउ गरी काभ्रे प्रहरीलाई जिम्मा लगाएको थियो। 

 

प्रकाशित: ७ भाद्र २०७५ १३:२६ बिहीबार

सर्वोच्च_अदालत नेकपा खड्गबहादुर_विश्वकर्मा