समाज

‘एक क्यारेट अण्डा सित्तैमा !’

नियमित गर्भ परीक्षण गर्ने महिलालाई अण्डा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष ।       तस्बिरः मुक्ति/नागरिक

पाल्पा – आमा र शिशुको पोषणमा सुधार गर्न तथा मातृशिशु मृत्युदरमा कमी ल्याउन पाल्पाको पूर्वखोला गाउँपालीकाले सित्तैमा एक क्यारेट अण्डा वितरण गर्न थालेको छ। एक क्यारेट अण्डा निशुल्क पाउन थालेपछि महिलाहरूले गर्भपरीक्षण नियमित गर्न थालेका छन्।

पूर्वखोला गाउँपालिकाले ‘जीरो होम डेलिभरी’ का लागी एक क्यारेट अण्डा सित्तैमा अभियान सञ्चालन गरेको हो। पूर्वखोला गाउँपालिका–५, वीरकोटकी संगीता सारू नियमित रुपमा गर्भ जाँच गराउने महिला हुन्। उनले ४,६,८ र ९ महिनामा आफ्नो गर्भको नियमित परीक्षण गरिन्। सारुले एक क्यारेट अण्डा पनि सित्तैमा पाइन्। चारपटक नियमित गर्भ जाँच गरेकी उनले अन्तिम साता अण्डा पाएकी हुन्।

पूर्वखोला गाउँपालिकाको अभियान अन्तर्गत सहभागी उनीसमेत तीन जनाले पहिलोपटक एक–एक क्यारेट अण्डा पाएका थिए। ‘यसरी सित्तैमा अण्डा पाउने कुरा मलाई थाहा थिएन,’ उनले भनिन्, ‘यसले अरू गर्भवती महिलालाई पनि हौसला मिल्नेछ।’ चारपटक गर्भ जाँच गराएर अन्तिम साताका सुसिता रुचाल र विनाकुमारी आलेले पनि अण्डा पाए। ‘सुत्केरी हुने समय आउन लागेको छ,’ वीरकोटकै रुचालले भनिन्, ‘यही बेलामा पोषिलो खानेकुरा पाइएको छ।’ 

नियमित गर्भ जाँच गराउन नआउने र घरमै सुत्केरी हुने बढेपछि गाउँपालिकाले यस्तो अभियान चलाएको हो। गत वर्ष नै सबै वडामा बर्थिङ सेन्टर सुरु गरेको पूर्वखोला गाउँपालिकाले अभियान चलाएरै अण्डा वितरण गर्न थालेपछि महिलाहरू हौसिएका छन्। गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले सिंगो गाउँपालिकाका गर्भवती महिलालाई ‘शून्य घर सुत्केरी’ बनाउन आकर्षीत गर्न पनि अण्डा दिने अभियान थालेको बताए। गाउँपालिकाको अभियान वीरकोटबाट सुरु भएको हो। 

गर्भवती भएका महिलालाई पोषिलो खानेकुरा खानका लागि यसले सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले बताए। उनी भन्छन्, अझै पनि घरमै सुत्केरी हुने र स्वास्थ्य संस्थासम्म नआउने प्रचलन गाउँपालिकाका प्राय सबै वडामा छ । ‘त्यसैले पनि हाम्रो अभियानले केही भए पनि सहयोग पुग्लाजस्तो लाग्छ,’ उनले भने, ‘सबै वडामा अभियान सुरु भइसकेको छ।’

गर्भावस्थामा स्वास्थ्य परीक्षणको महत्व बढी हुन्छ। अभियानले लक्षित समुदायलाई उत्साही गराउने गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए। उनका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षमा १ लाख बजेट अण्डा वितरणका लागि छुट्याएको छ।

‘गाउँपालिकाको अभियानबाट घरमै सुत्केरी हुनेको संख्यामा कमी हुने आशा लिइएको छ। सबै टोल र बस्तीमा पुगेर सचेतना चलाएका छौं,’ वीरकोट स्वास्थचौकी प्रमुख नर्भुफुर्वा दोर्जेले भनिन्, भौगोलिक विकटताका कारण पनि अझैसम्म घरमै सुत्केरी हुनेको संख्या आधा नै रहेको छ। अघिल्लो आर्थिक वर्षमा ३८ जना घरमै सुत्केरी भएका छन्। ३० जना स्वास्थ्यचौकीमा आएर सुत्केरी भएका थिए।’ ‘भौगोलिक विकटताका कारण समस्या भएको छ,’ उनले भनिन्, ‘बाटोमै सुत्केरी हुने समस्या पनि बढी छ।’ घरबाट तीनरचार घण्टा हिँडेर स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता छ।

पूर्वखोला गाउँपालिकामा स्वास्थ्य संस्थामाभन्दा घरमा सुत्केरी हुने गर्भवती धेरै छन्। गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले सिलुवामा भौगोलिक कठिनाईका कारण र पूर्ण चेतनाको अभावमा घरमा पनि सुत्केरी हुने संख्यामा कमी आउन नसकेको बताए। 

‘गाउँपालिका आगामी आर्थिक वर्षभित्र शून्य होम डेलीभरी बनाउने लक्ष्य राखेको छ। हामी सचेतनाका कार्यक्रमसँगै सेवा विस्तारमा लागेका छौं। सबै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर सञ्चालन गरेका छौं। सबै संस्थामा एक–एक जना अनमी करारमा राखेका छौं,’ ढकालले भने, ‘गाउँपालिकामा १ सय ९१ जना महिलाहरू स्वास्थ्य संस्थामै सुत्केरी भएका छन्। घरमा हुनेको संख्या ७२ रहेको छ।’

सिलुवा स्वास्थ्य चौकीकी अनमी वसन्ता केसी ‘एसबीए’ बच्चा जन्माउन सहयोग गर्ने सीपको तालिम प्राप्त स्वास्थ्य कार्यकर्ता हुन्। उनले सिलुवामा चेतनाको अभाव र भौगोलिक कठिनाइका कारण स्वास्थ्य संस्थाभन्दा घरमै धेरै महिला सुत्केरी हुने गरेको बताइन्। उनी भन्छिन्, ‘महिलाहरू लजाएर एएनसी चेकअप गर्न पनि आउँदैनन्। भौगोलिक पनि कठिनाई छ। पहिला स्वास्थ्यकर्मी पनि थिएनन्।’

गाउँमा आमा समूह गठन गरेर घरघरमा जनचेतना पुर्याएका छौं, धेरैलाई अझ सरसल्लाह पुगेको छैन। ‘सुत्केरी हुन आउनेलाई व्यवस्थापन गर्न संस्थामा पनि कोठा साँघुरो छ। बाहिर बस्ने कोठा पाईदैन,’केसीले भनिन्, ‘हामी सरकारले दिँदै आएको यातायात खर्च १ हजारमा थप ४,६,८ र ९ महिनाको अवस्था जाँच गरे वापत् ४ सय र गाउँपालिकाले यातायात खर्च ६ सय गरी २ हजार सुत्केरी हुनेलाई दिँदै पनि आएका छौं।’

सिलुवा, रिग्नेरह र विरकोटमा केही वर्ष पहिलेदेखी नै बर्थिङ सेन्टर सञ्चालन भएतापनि गाउँपालिकाले चालू आवमा जल्पा, हेक्लाङ र देविनगर स्वास्थ्यचौकीमा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो। 

प्रकाशित: ७ भाद्र २०७५ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App