रोल्पा – रोल्पामा केही वर्ष यता युवा शक्तिको खडेरी परेको कुरा एक तथ्याङ्कले देखाएको छ। २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख २४ हजार ५ सय ६ रहेको छ। जसमध्ये करिब ९५ हजार बालबालिका विद्यालय जाने गर्दछन।
करिब ३० हजार रोल्पाली वैदेशिक रोजगारिका लागी बाहिर गएका छन। ४३ हजार घरधुरी मध्ये कम्तीमा एक घरमा एक वृद्धवृद्धाको कल्पना गर्दा पनि ४३ हजार उत्पादनशिल काममा लाग्न सक्ने अवस्थामा छैनन्। यसैगरी उपत्यका तिरका ईट्टाभट्टामा करिब १० हजार मजदुरीका लागि पुगेका छन्।
उता विदेश गएकामध्ये करिब ५ हजारका श्रीमति बच्चा पढाउन भन्दै सहर पसेका छन भने अध्ययन वा अन्य ब्यवसायका लागी पनि करिब ५ हजार जिल्ला बाहिर छन। जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, नागरिक समाज, पत्रकार, आमा समुह, योजनाका उपभोक्ता समिति सदस्य र उत्पादनशिल क्षेत्रमा बाँकी करिब ३६ हजार जनशक्ति जिल्लामा छन्।
‘यो करिब ३५ हजार जनशक्ति पनि पूर्ण रुपमा उत्पादनमा लागेको छैन। कतिपय घर कुर्नुपर्ने अथवा भनौ समान्य दैनिकी चलाउनेमा निर्भर छ। स्थानीय सरकार लक्ष्य विनाको यात्रामा छन्।’ पत्रकार तथा विष्लेषक खेम बुढा भन्छन, हिजो दर्जनौको संख्यामा पालिने गाईबस्तु घटेर प्रति परिवार एक–दुई वटामा झरेका छन। जमिन बाझो बस्न थालेको छ। एक प्रकारले हेर्ने हो भने सबै जिल्ला रेमिट्यान्सले नै धानेको छ। प्लान विनाको विकासे योजना र जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानी नलगाउनु दुखद हो।’
रोजगारीको कारण देखाउँदै युवा जनशक्ति जिल्लामा रहन नसक्नु एकातिर समस्या देखिन्छ भने अर्को तिर वार्षीक करोडाैं खर्चमा डोजरले सडक खनिरहेको छ। भौतिक विकासमा मात्र ध्यान दिएको हिजो र आजको सरकारले सामाजिक र मानविय विकासमा ध्यान दिन सकिरहेको छैन्।
‘अनौपचारीक तथ्याङ्कले रोल्पामा देखिएको ३६ हजार जनसंख्यामध्ये धेरै जसो नेता र कार्यकर्ता छन्। पछिल्लो समय रोल्पामा बजेट पनि प्रयाप्त भित्रिएको छ। राजनीतिले बजेट मात्र हेर्यो अरु हेरेन। विकास भनेको सडक भन्ने एक मात्र बुझाईले पनि समस्या देखिन्छ। सडक निर्माण पछि यात्राको सहजता मात्र होइन उत्पादन र त्यसको निकासी पनि हो भन्ने चेतनाको विकास भएन।’ जलजला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गोकर्ण पुन भन्छन्।
‘युवा जनशक्तिको अभाब छ। जिल्लामा कुनै मास्टर प्लान नै छैन। लक्ष्य विनाको यात्राले गन्तव्य कहाँ भेटिन्छन। रोल्पा राजनीतिक हिसाबले मात्र चर्चामा आयो तर सामाजिक र मानविय हिसाबले गाउँहरू २०५२ सालकै स्तरमा देखिन्छन। हिजो आत्मनिर्भर रहेका पेसा धरापमा परिसके।’ पुन भन्छन, ‘हिजो घिउ बेच्नेहरूले ब्यवसाय छोडिसके। जिल्लामा रहेका १ सय बढि डोजरले आर्थिक बर्षको अन्तिम तिन चार महिनामा गर्ने काम मानविय जनशक्ति प्रयोग गरेर आजैबाट सुरु गर्ने हो भने कोही विदेश भौतारिनु पर्दैन। सबैलाई प्रशस्त रोजगारी जिल्लामै पुग्छ।’
रोल्पाको कुल क्षेत्रफल १ लाख ७५ हजार ९ सय २८ हेक्टरमध्ये ४० हजार ९ सय २७ हेक्टर खेती योग्य जमिन छ। जिल्ला कृषी विकास कार्यालयका अनुसार करिब ३१ हजार ४ सय ९६ हेक्टरमा पूर्ण तथा आंशिक खेतिपाती गरिन्छ। ‘अनुगमन वा अन्य काममा गाउँ जादा कृषी पेशामा प्राय उमेर ढलेकै लागिरहेका देखिन्छन। युवा जनशक्तिको अली कमी नै देखेको छु।’ जिल्ला कृषी विकास कार्यालयका योजना अधिकृत लोकराज सुवेदीले भने।
‘विदेश, ईट्टाभट्टा र कालापार गएकालाई रोल्पा ल्याउने वातावरण तयार गर्ने समय आइसकेको छ। प्रत्येक स्थानीय तहले स्वरोजगार मुलक क्षेत्रमा ध्यान दिनुपर्छ। बाख्रा फर्म, कृषी फर्म वा अन्य केही तिर लगानी लगाउनुको विकल्प छैन। कलेजलाई स्तरीय बनाउने, अस्पताल सुधार गर्ने, रोल्पालीका लागी मात्र नभएर बाहिरबाट पनि रोल्पा आउने वातावरण बनाउनुपर्छ’ पत्रकार खेम बुढा थप्छन।
जिल्लाका स्थानीय तहहरू लक्ष्य विनाको यात्रामा अगाडि बढिरहँदा जिल्लाको भविष्यका बारेमा गहन छलफल हुने गरेको छैन्। यहाँ युवा जनशक्ति घट्दै गर्दा त्यसलाई कसरी रोक्ने भन्ने चिन्ताले जनप्रतिनिधिलाई छुन सकेको छैन।
प्रकाशित: ६ भाद्र २०७५ ०५:५२ बुधबार