समाज

गाउँपालिकाको गाडी किन्ने रकमले एम्बुलेन्स

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकाले गाडी नकिन्ने भएको छ । कार्यालय प्रयोजनका लागि गाडी किन्ने रकमले अब उसले एम्बुलेन्स किन्ने भएको हो । कार्यालयलाई गाडीभन्दा स्थानीय बासिन्दाका लागि एम्बुलेन्स बढी आवश्यक भएकाले यस्तो निर्णय गरिएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले जानकारी दिइन् । पचास लाख रुपैयाँ सम्मको एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको उनले बताइन्।

अब गाउँपालिकाका अध्यक्ष एवं पदाधिकारीले अध्यक्षकै निजी गाडी प्रयोग गर्ने छन् । गाडीको सामान्य मर्मत र तेल खर्च मात्रै गाउँपालिकाले बेहोर्ने छ । गाउँपालिका कार्यालय प्रयोजनका लागि अध्यक्ष नुर्वुसाङ्बो घलेको निजी गाडी यस अघिदेखि नै प्रयोग हुँदै आएको छ । जिल्लाका कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाले भने गाडी खरिद गरिसकेका छन् । प्रत्येक गाउँपालिकाले दुईवटा गाडी खरिद गर्ने छन् । त्यसमध्ये चारवटा गाउँपालिकाले एउटा÷एउटा गाडी खरिद गरिसकेको बताइएको छ।

नौकुण्ड गाउँपालिकामा अस्पताल र एम्बुलेन्स नहुँदा जटिल खालका बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको छ । गाउँपालिकामा स्वास्थ्य चौकी तीन र सामुदायिक स्वास्थ्य इकाई तीन गरी ६ वटा स्वास्थ्य संस्था छन् । जटिल खालका बिरामीलाई नुवाकोट जिल्ला अस्पताल र काठमाडौंका टिचिङ र वीर अस्पतालमा रेफर गर्ने गरिएको गाउँपालिका हेल्थ असिस्टेन्ट केशवप्रसाद पौडेलले बताए । अपरेसन गरी बच्चा निकाल्नुपर्ने सुत्केरी, प्लास्टर गर्नुपर्ने खालका बिरामीलाई रेफर गर्ने गरिएको उनले जानकारी दिए।

स्थानीय तह कार्यान्वयनमा आएपछि सडक सञ्जालले जोडिएको यो गाउँपालिकाका हरेक बस्तीमा सडक पुगेको छ । छवटा वडा रहेका यो गाउँपालिकाका सबै वडामा सडक पुगिसकेको हो । सडक निर्माण भएपछि स्वास्थ्य संस्थासम्म बिरामीलाई पुर्याउन सहज भएको छ । गत वर्ष निर्माण गरिएका ग्रामीण सडक चालू आर्थिक वर्षमा मर्मतसम्भार गरिने गाउँपालिकाले जनाएको छ । ‘सडक नपुगेका केही क्षेत्रमा सडक विस्तार गर्ने योजना छ,’ उपाध्यक्ष लामाले भनिन्, बनिसकेका सडकमा नाली निर्माण तथा मर्मत गर्ने योजना छ ।’ दसैंअघि नै सडक बनाइसक्ने गाउँपालिकाले जनाएको छ । सडक मर्मत, सुधार र निर्माणका लागि वजेट विनियोजन गरिएको बताइएको छ।

प्रकाशित: ६ भाद्र २०७५ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App