समाज

कार्यकारी निर्देशकको एकल निर्णयमा भाडामा

काठमाडौं – रेडियो नेपालको स्वामित्वमा रहेको जग्गा भाडामा दिँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिसहितको समितिको निर्णयबाट टुंगोमा पुग्नुपर्ने व्यवस्था छ । उक्त समितिमा सञ्चार मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सहसचिवसमेत रहन्छन्। 

समितिले टुंगो लगाएपछि मात्रै सरकारी जग्गा भाडामा दिने वा नदिने भन्ने विषय अघि बढ्छ । तर ललितपुरको खुमलटारमा रहेको ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिँदा अन्य निकायलाई जानकारी नै गराइएको छैन । उक्त जग्गा रेडियो नेपालको नाममा छ।

प्रतिरोपनी ४१ हजारका दरले उक्त जग्गा भाडामा दिँदा कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपाल सञ्चालक समितिलाई समेत जानकारी नगराएको भेटिएको छ । उनले एकलौटी ढंगले ३० वर्षका लागि भाडामा दिएर जग्गा पचाउन खोजेको रेडियो नेपालका एक कर्मचारीले बताए । ती कर्मचारीले पछिल्लो समय सञ्चालक हावी हुन थालेकाले सरकारी जग्गा निजी कम्पनीलाई निर्णय र सम्झौताविपरीत भाडामा लगाउने कार्य भएकोे आरोप लगाए । ‘रेडियो नेपालको जग्गा भाडामा लगाउँदा सञ्चालक समितिको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको स्वीकृति आवश्यक पर्ने थियो,’ ती कर्मचारीले भने, ‘यो पक्षलाई कार्यकारीज्यूले ध्यान दिनुभएन, यसले जग्गा दलालहरुलाई प्रोत्साहन गरेको देखियो ।’

प्रतिरोपनी ४१ हजारका दरले जग्गा भाडामा दिँदा कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपाल सञ्चालक समितिलाई समेत जानकारी नगराएको भेटिएको छ।

सार्वजनिक खरिद ऐन २०६४ र सार्वजनिक खरिद नियमावली २०६५ अनुसार पनि सरकारी निकायले सरसामान, उपकरण, जग्गा भाडामा दिँदा वा खरिद गर्दा सञ्चालक समितिको सम्झौताअनुसार गर्नुपर्ने व्यवस्था छ । सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जग्गा भाडामा दिँदा सञ्चार मन्त्रालयलाई जानकारी नगराइएको बताए । उनले रेडियो नेपालको जग्गा भाडाबारे रेडियो नेपाललाई नै सोध्न आग्रह गरे । ‘हामीलाई यसबारे थाहा छैन । जग्गा भाडामा दिने विषयमा मन्त्रायलाई जानकारी गराइएको थियो भने पक्कै यसमा हाम्रा जवाफ आउँथ्यो होला,’ उनले भने, ‘जग्गा कसरी भाडामा दिइएको छ भनेर हामीले औपचारिक जानकारी पाएका छैनौं।’

उक्त जग्गा भाडामा दिँदा सम्झौता मिचिएको छ । ललितपुर महानगरपालिका १५ का वडाध्यक्ष सुदर्शन मिश्रले प्रिमियर स्कुलले जग्गा हडप्ने प्रपञ्च रचेको बताए । उनले भाडामा दिइएको जग्गा फिर्ता गराई खाली राख्न रेडियो नेपाल सञ्चालक समितिसँग बारम्बार माग गरेको जानकारी दिए । ‘यसलाई खाली राख्दा नै उचित हुन्छ,’ उनले भने, ‘मेरो वडामा पर्ने भएकोले यो क्षेत्रको जग्गाको संरक्षण हामीले नै गरिदिन सक्छौं ।’ खुमलटारमा रहेको जग्गामध्ये ४२ रोपनी रेडियो नेपालले भाडामा लगाएको छ।

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले २० वर्षदेखि खाली रहेको जग्गा आम्दानी बढाउन भाडामा लगाइएको दाबी गरे । उनले स्थानीयले हडप्न खोजेपछि निजी कम्पनीलाई नै भए पनि ३० वर्षका लागि प्रतिरोपनी ४१ हजारका दरले भाडामा दिएको बताए । ‘यो जग्गामा धेरैको नजर छ, प्रिमियर स्कुल र जग्गाछेउकै स्थानीयले विरोध गरेका छन्,’ उनले भने, ‘जग्गा खोस्न नपाएपछि विरोधमा उत्रिएका हुन् ।’ उनले ४२ रोपनी जग्गाको लाभ खुमलटारमा अग्ला घर बनाएर बसेकाहरुले लिन नपाएको झोकमा विरोध गरेको आरोप लगाए।

‘मेरो माग पनि खुला राखौं भन्ने नै हो तर खुला राख्दा त्यो क्षेत्रमा माफियाले जग्गा आफ्नो नाममा दर्ता गरेर खोस्छन् भन्ने डर भयो ।’ उनका अनुसार स्थानीय सुवास राई, प्रिमियर स्कूलका सञ्चालक र अन्य व्यक्तिले रेडियो नेपालको केही जग्गा हडप्न खोजेका छन् । प्रिमियर स्कुलले ४२ रोपनी जग्गामध्येकै केही भागमा दुइटा भवन बनाइसकेको छ । भवन बनाउँदा ललितपुर महानगरपालिका र रेडियो नेपालसँग कुनै स्वीकृति लिएको छैन।

प्रिमियर इन्टरनेसनल स्कुलका प्रिन्सिपल वसन्त थापाले सरकारी जग्गा हडप्न नखोजेको बताए । ‘हामीले सरकारी जग्गाप्रति कुनै लोभ राखेका छैनौं,’ उनले भने, ‘अरुको जग्गा त्यसरी मनपरी प्रयोग गर्दैनौं।’

प्रकाशित: ६ भाद्र २०७५ ०१:४५ बुधबार

रेडियो_नेपाल जग्गा_भाडा