समाज

चार महिनाको अवधिमा विपदबाट २ अर्ब बढीको क्षति

काठमाडौं – विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट २ अर्बभन्दा बढीको भौतिक क्षति भएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट २ अर्ब ८ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ।

आगालागी, हावाहुरी, बाढीपहिरो, चट्याङ, असिनापानी लगायतका घटनाबाट उक्त क्षति भएको हो। जसमध्ये आगलागीका कारण सबैभन्दा धेरै क्षति भएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार आगलागीका कारण १ अर्ब ८९ करोड ३९ लाख ७७ हजार ८५०, बाढीले ३ करोड १४ लाख ६३ हजार ९००, पहिरोले ७ करोड ९८ लाख ४१ हजार ५०० को क्षति भएको छ।

वर्षातले ३ करोड ८६ लाख ८६ हजार ३६०, हावाहुरीले ३ करोड ५८ लाख १६ हजार ९९८, चट्याङले ४४ लाख ७७ हजार, असिनापानीले ४ लाख ५७ हजार र अन्य कारणबाट १० लाख १९ हजार ९०० मूल्य बराबरको क्षति भएको छ। 

विपद्का कारण ४ हजार ६ सय ९८ परिवार प्रभावित भएका छन् भने १ हजार ६ सय ५७ जनावर मरेका छन्। यो वर्षमात्र प्राकृतिक प्रकोपका घटनाबाट ५ सय ६१ जनाको ज्यान गइसकेको छ। जसमध्ये पुरुष ३७८ र महिला १८३ छन्। यस्तै ९५ हराइरहेका छन् भने २ हजार ३३१ घाइते भएका छन्।

गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल प्राकृतिक प्रकोपबाट हुने घटनाको उद्दार र राहतका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए। (रासस)

 

प्रकाशित: ५ भाद्र २०७५ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App