समाज

झाको झ्यालको जाली कसले काट्यो ?

काठमाडौं- पूर्वराजदूत केशव झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धानमा प्रहरी लागेको छ। टाउको र निधारमा चक्कुको गहिरो चोट लागेको अवस्थामा उनको शब फेला परेको थियो। झाको हत्या भएको प्रहरीले शंका गरेको छ। फ्रान्सका लागि पूर्व नेपाली राजदूत झाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले कुकुरको समेत प्रयोग गरेको छ।

घरको झ्यालको जाली काटिएको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले बताए। 'घरको जाली काटिएको अवस्थामा भेटिएको छ। घटना के भएको हो हामीले अनुसन्धान सुरु गरेका छौं। फरेन्सिक चिकित्सकले पनि अध्ययन गर्नुभएको छ।' घर बाहिरबाट ताला लगाएको र उनकै भान्सामा रहेको चक्कुले उनीमाथी आक्रमण गरेर हत्याको गरेको हुन सक्ने प्रहरी आशंका छ।

घरमा श्रीमती, एक कामदार र झा मात्रै बस्दै आएका थिए। श्रीमान श्रीमती अलग–अलग कोठामा सुत्ने र विहान अवेरसम्म श्रीमान नउठेपछि झाकी श्रीमती उठाउन जाँदा उनलाई मृत अवस्थामा देखेकी थिइन्। प्रहरीले घटनास्थलबाट केही सामान वरामद गरेको छ।

तस्बिर : सुजन श्रेष्ठ

 

केशव_झा हत्या