समाज

रसुवाको नौकुण्ड गाउँपालिकाले गाडी किन्ने रकमले एम्बुलेन्स किन्ने

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकाले गाडी खरिद नगर्ने भएको छ। गाउँपालिकाले कार्यालयको प्रयोजनका लागि गाडी खरिद गर्ने रकमले एम्बुलेन्स किन्न लागेको हो।

गाउँपालिकामा अन्य सवारी साधनभन्दा एम्बुलेन्स प्रमुख आवश्यकता रहेकोले गाडी खरिद नगर्ने निर्णय भएको पालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्। ५० लाखसम्मको एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको उनको भनाई छ।

आवश्यकता अनुसार गाउँपालिकाको अध्यक्ष तथा पदाधिकारीले अध्यक्षको निजी गाडी प्रयोग गर्नेछन्। गाडीको सामान्य मर्मत र तेल खर्च मात्रै पालिकाले बेहोर्ने छ। यसअघि पनि कार्यालय प्रयोजनमा अध्यक्ष नुर्वुसाङ्बो घलेको गाडी प्रयोग हुँदै आएको छ।

जिल्लाको कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाले गाडी खरिद गरिसकेका छन्। प्रत्येक पालिकाले दुईवटा गाडी खरिद गर्ने छन्। चारवटा गाउँपालिकाले एउटा÷एउटा गाडी खरिद गरिसकेका बताइएको छ।

नौकुण्ड गाउँपालिकामा अस्पताल र एम्बुलेन्स नहुँदा जटिल खालका बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको छ। गाउँपालिकामा स्वास्थ्य चौकी तीनवटा र सामुदायिक स्वास्थ्य इकाई तीनवटा गरी ६ वटा स्वास्थ्य संस्था रहेका छन्।

जटिल खालका बिरामीलाई नुवाकोट जिल्ला अस्पताल र काठमाडौंको टिचिङ र वीर अस्पतालमा रिफर गर्ने गरिएको गाउँपालिका हेल्थ असिस्टेन्ट केशव प्रसाद पौडेलले बताए। अप्रेसन गरी बच्चा निकाल्नु पर्ने सुत्केरी, प्लाष्टर गर्नुपर्ने खालका बिरामीलाई रिफर गर्ने गरिएको उनले बताए।

स्थानीय तह आएपछि सडक सञ्जालले जोडिएको यो गाउँपालिकामा हरेक बस्तीमा सडक बिस्तार गरिएको छ। ६ वटा वडा रहेको यो गाउँपालिकाको सबै वडामा सडक पुगिसकेको छ। सडक निर्माण भएपछि स्वास्थ्य संस्थासम्म बिरामीलाई पु¥याउन सहज भएको छ।

गत वर्ष निर्माण गरिएको ग्रामिण सडक चालु आर्थिक वर्षमा मर्मत संहार गरिने गाउँपालिकाले जनाएको छ। ‘सडक नपुगेको केही क्षेत्रमा सडक विस्तार गर्ने योजना छ,’ उपाध्यक्ष लामाले भनिन्, ‘बनिसकेका सडकमा नाली निर्माण गर्ने र मर्मत गर्ने योजना छ।’

दशैँ अगाडि नै सडक सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ। सडक मर्मत, सुधार र नवनिर्माणका लागि बजेट विनियोजन गरिएको बताइएको छ।

प्रकाशित: ४ भाद्र २०७५ ०२:२६ सोमबार

नौकुण्ड_गाउँपालिका एम्बुलेन्स