समाज

जुम्ला घटनाको छानबिन सुरु

जुम्ला - चिकित्साशिक्षा सुधारको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचारकक्षमा अनशनरत रहेका बेला डा.गोविन्द केसीलाई बलजफ्ती काठमाडौं लैजाँदा साउन ३ मा भएको घटनाको छानबिन सुरु भएको छ। कर्णाली प्रदेश सरकारले गठन गरेको कार्यदलले जुम्ला आएर छानबिन सुरु गरेको हो । कार्यदललाई एक साताको समय दिइएको भए पनि साता दिनपछि मात्र काम सुरु गरिएको छ। प्रतिकूल मौसम र संयोजकको अस्वस्थताका कारण कार्यदल जुम्ला आउन सकेको थिएन।

कार्यदलका संयोजक कलानिधि पौडेल र सदस्य भक्तबहादुर कार्की छानबिनका लागि जुम्ला आएका छन् । कार्यदल संयोजक पौडेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हुन् भने सदस्य कार्की आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत छन्। संयोजक पौडेलले भने, कार्यदल जुम्ला आइसकेको छ, घनीभूत छानबिन गर्छ, सम्बद्ध सबैसँग भेटघाट गरेर अघि बढ्छ। तोकिएको समयभित्रै कर्णाली प्रदेश सरकारलाई प्रतिवेदन बुझाउन सक्षम हुनेछ।’ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख तथा कार्यदल सदस्य वृर्षबहादुर शाही मन्त्रालयको कामका लागि काठमाडाैंमै रहेकाले जुम्ला आउन सकेनन्।

कार्यदलले जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलसँग छलफल गरेको छ। पौडेलले भने, ‘जुम्ला घटनाको नालीबेलीका बारेमा प्रमुख जिल्ला अधिकारीसँग बुझ्ने काम भयो।’ कार्यदलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति राजेन्द्रराज वाग्ले र रजिस्ट्रार विश्वराज काफ्लेलाई भेटेर घटना र घटनामा भएको क्षति विवरणबारे जानकारी लिएको छ। कार्यदलले अस्पताल घटनामा क्षतिग्रस्त संरचनाको अवलोकनसमेत गरेको छ। पहिलो दिन प्रमुख जिल्ला अधिकारी, प्रतिष्ठानका उपकुलपति र रजिस्ट्रारलाई भेटेर जानकारी लियौं,’ संयोजक पौडेलले भने, ‘घटनासँग सरोकार राख्ने सबै पक्षसँग भेटघाट गरेर सूचना संकलन गर्दैछौं। अस्पताल घटनाको सत्यतथ्य बुझ्दैछौं।’ उनले घटनाको वास्तविकता पत्ता लगाएर कर्णाली सरकारलाई प्रतिवेदन बझुाउनेछौं।’

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको कार्यकारी परिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। प्रतिष्ठानले स्पष्ट कार्यादेश दिन नसकेको भन्दै समितिले काम अघि बढाउन नसकेपछि कर्णाली प्रदेश सरकारले कार्यदल बनाएर अस्पताल घटनाको छानबिन गर्न थालेको हो।

प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले कार्यदललाई घटनाको यथार्थ छानबिनका लागि सक्दो सहयोग गर्ने बताए। उनले भने, ‘कार्यदलको छानबिन प्रतिवेदनले दोषीलाई उम्कन दिने छैन, निर्दोषलाई सजायको भागीदार बनाउने छैन।’ उनले अस्पताल घटनाको उचित छानबिन आवश्यक रहेको र छानबिनबाट अति संवेदनशील क्षेत्र मानिएको अस्पतालमा सुरक्षाको अनुभूति गराउने बताए।

स्थानीयले कर्णाली सरकारको कार्यदल अस्पताल घटना छानबिनका लागि आएकोमा स्वागत गरेका छन्। उनीहरूले अस्पताल घटनाका दोषीलाई छानबिनका माध्यमबाट कारबाही माग गरेका छन्। नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कार्यदलले सत्यतथ्य छानबिन गर्नेमा कुनै शंका नभएको बताए। उनले भने, ‘कार्यदलले अस्पतालभित्र र बाहिर सबैतिरका घटनाको छानबिन गर्नुुपर्छ, सरकारी पक्षको मात्रै नभई डा. केसी समर्थकको पनि धारणा बुझ्नुपर्छ।’ उनले निष्पक्ष, स्वतन्त्र र उचित ढंगले छानबिन हुनुपर्ने जुम्लावासीको आवाज भएको बताए।

कार्यदल जुम्लामा पाँच दिनसम्म बस्नेछ। छानबिनमा सहयोग गर्न कार्यदलले जुम्लावासीसँग आग्रह गरेको छ।

प्रकाशित: ३ भाद्र २०७५ ०१:५० आइतबार

जुम्ला_घटना छानबिन चिकित्साशिक्षा डा.गोविन्द_केसी अनशन