समाज

दार्चुला-गोकुलेश्वर खडकखण्ड अवरुद्ध

दार्चुला- महाकाली लोकमार्ग अन्तर्गत  दार्चुला गोकुलेश्वर खडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार राती परेको पानीले  महाकाली नगरपालिका ८ काँकडा  खोलामा आएको बाढीले सडक बगाउँदा यातायात सेवा अबरुद्ध भएको छ। शुक्रबार बेलुकीको अबिरल बर्षासंगै आएको बाढिका कारण कांकडा  खोलामा एक्कासी पानीको सतह बढ्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 वर्षात शुरु भएसंगै दार्चुला सडक पटक पटक अवरुद्ध हुदै आएको छ। गत सातामात्रै लगार तीन दिन अवरुद्ध रहेको थियो। वर्षातको समयमा  बर्षौदेखीको भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता दार्चुलाबासीको  कायमै रहेको छ। शनिबार बिहान महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडकखण्ड अन्तर्गत पर्ने काकँडा खोलामा पानीको सहत बढ्दा जिल्लाको  सम्पूर्ण यातायात नै ठप्प रहेको छ।

शुक्रबार रातीको अविरल वर्षाका कारण खोलामा पानीको सतह बढे पछि जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने छोटो तथा लामो दुरीमा दर्जनबढी सवारी साधन र सयौं यात्रुहरु घन्टौ खोलाकै छेउमा रहे। महाकाली नगरपालिका वडा नम्बर–८ स्थित पर्ने कांकडा खोलामा समयमै पुल निर्माण हुन नसक्दा पानीको सतह बढ्ने वित्तिकै यातायात ठप्प हुने गरेको छ। शनिबार खोलाले सडक पुरै कटान गरेपछि यातायातका साधनहरु चल्न नसकेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताए ।

काँकडा खोलामा मोटर पुल निर्माणाधिन अवस्थामा रहेको छ। पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल अलपत्र अवस्थामा छ। २०७२ सालमा आएको बाढीले उक्त खोलामा रहेको पहिले बनेको पक्की  मोटरपुल बगाएपछि बर्षातको समयमा यस्तै समस्या दोहोरीने गरेको हो। काँकडासहित महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडक खन्डमा बिभिन्न खोलाहरुमा ७ ओटा मोटरपुलहरु निमार्णधिन अवस्थामा रहेपनि सबैको म्याद सकिएको छ, तर कुनैपनि पुल निमार्णसम्पन्न हुन सकेका छैनन्।

प्रकाशित: २ भाद्र २०७५ १३:२० शनिबार

दार्चुला सडक अवरुद्ध