समाज

दश घर पहिरोको उच्च जोखिममा

पहिरोको जोखिममा रहेको अर्जुन र गीता श्रेष्ठको घर ।     तस्बिर सौजन्य : नवीन गुरुङ

संखुवासभा – संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका ४ सेकाहामा पर्ने च्यानडाँडाका १० घर पहिरोको उच्च जोखिममा परेका छन्।

पहिरोले टिकाराम श्रेष्ठ, अर्जुन श्रेष्ठ, गिता श्रेष्ठ, मोहन गुरुङ, रविन्द्र गुरुङ, चन्द्रबहादुर गुरुङ, कुमार श्रेष्ठ, मनिराज गुरुङ, गौरीमान गुरुङ र दोर्ची भोटेको घर जोखिममा पारेको हो। केही दिन अघि वर्षासँगै गएको पहिरोले जमिन तानिन थालेपछि उनीहरूको घर जोखिममा परेको हो।

जोगवनी किमाथांका सडकखण्ड अन्र्तगत यो बस्ती पर्ने भएकाले सडक माथीका घरहरू पहिरोको जोखिममा परेका हुन्। १० घरमध्ये रविन्द्र, अर्जुन, टिकाराम, गिता र दोर्ची भोटेको पाँच घरपरिवार तत्कालै विस्थापित हुने अवस्थामा पुगेको रविन्द्रले बताए।

नगरपालिका र वडा कार्यालयमा पुगेर आफूहरूको अवस्था बारे जानकारी गराएको बताउँदै तत्काल सुरक्षित स्थानान्तरणको लागी अनुरोध गरेको गीता श्रेष्ठले बताइन। पहिरोले घरको आँगन देखी तानेर लगिसक्यो, रातभर पानी पर्छ, ठूलो पानी परेको दिन छिमेकीको घरमा सुत्न जाने गरेका छौं, उनले भनिन्।

पहिरोको रोकथाम र व्यवस्थापनका लागि वडाले नगरपालिका र विपद व्यवस्थापन समिति जिल्ला प्रशासनमा निवेदन पेश गर्न फायल तयार गरिसकेको वडा सदस्य जीतबहादुर गुरुङले बताए। 

प्रकाशित: २ भाद्र २०७५ ०५:१२ शनिबार

संखुवासभा पहिरो जोखिम