समाज

३५ बर्षपछि फरार अभियुक्त पक्राउ

रामेछाप - कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका जिल्लाको खाडादेवी गाउँपालिका वडा नं १ का ७० बर्षीय छेवाङ तमाङलाई अदालतले १० बर्ष कैद सजाय फैसला गरेको ३५ बर्षपछि रामेछाप प्रहरीले पक्राउ गरेको छ।

तमाङले २०३१ साल असोज १५ गते खाँडादेवी गाउँपालिका १ कै हिराकाजी श्रेष्ठकाे हत्या गरेका थिए। हत्या गरेको करिब ९ बर्ष पछि मृतकका आफन्तले दिएको जाहेरीका आधारमा तमाङलाई मध्यमाञ्चल क्षेत्रिय उच्च अदालतको २०४० साल असार २० गते १० बर्ष जेल सजाय तोकेको थियो। अदालतबाट कैद सजायको फैसला भएपछि फरार बनेका तमाङलाई जिल्ला प्रहरी कार्यालय रामेछापको विशेष प्रहरी टोलीले रौतहट जिल्लाको चन्द्रपुरमा लुकीछिपी बसेको अवस्थामा साउन २८ गते पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरिक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए।

उनले तमाङलाई साउन २९ गते नै जिल्ला अदालत रामेछापमा बुझाएको र अदालतले १० बर्ष कैद भुक्तानका लागि पुन: फैसला गरेपछि जेल चलान गरिएको जानकारी दिए। २९ गते नै तमाङलाइ जेल चलान गरिएता पनि कार्य व्यस्तताका कारण सार्वजनिक गर्न भने केही दिन ढिला भएकाे सिंहले बताए। 

 

प्रकाशित: १ भाद्र २०७५ ११:५२ शुक्रबार

रामेछाप अभियुक्त_पक्राउ