समाज

हरिणको मासु विक्री गर्ने पक्राउ

सर्लाही- संरक्षित वन्यजन्तु हरिणको मासु विक्री गरेको अरोपमा सर्लाही प्रहरीले पाँचजना पक्राउ गरेको छ। सेक्टर वन कार्यालय मूर्तियाको टोलीले बिहीवार बिहान जिल्लाको दक्षिण–पश्चिम क्षेत्र स्थित राजघाटबाट पाँचजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३२ वर्षीय दुधलाल स्याङतान, ४३ वर्षीय ज्ञानबहादुर मोक्तान, ६० वर्षीय मानबहादुर मोक्तान, ४८ वर्षीय वीरबहादुर स्याङतान र ६७ वर्षीय सुब्बा सिं मोक्तान रहेका छन्।

बागमती नगरपालिका–६, राजघाट स्थित लालबहादुर टोलमा हरिणको मासु काटेर बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत नरेश ठाकुरले जानकारी दिए। घटनास्थलबाट मासु काट्न प्रयोग गरिएको दुई थान चक्कु, एक थान दाउ र एक थान चुलेसी तथा १० किलो मासु समेत बरामद गरिएको वन कार्यालयले जनाएको छ। पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाईएको जिल्ला वन अधिकृत ठाकुरले जानकारी दिए। 

हरिणको मासु काटेर विक्री गरिरहेको सूचनाका आधारमा गाउँ पुगेको वन कार्यालयको टोलीलाई स्थानीयले केही बेर अवरोध समेत गरेको बताईएको छ । मासु काटिरहेको स्थानबाट अभियुक्तलाई हतार हतार पक्राउ गरेर ल्याउने क्रममा गाउँमै छुटेका एकजना कर्मचारीलाई स्थानीयले केहीबेर नियन्त्रणमा लिएका थिए। तत्काल प्रहरी चौकी राजघाटबाट गएको प्रहरी टोलीले स्थानीयको नियन्त्रणमा रहेका ती कर्मचारीको उद्धार गरेको थियो ।

चुरे क्षेत्रमा मानविय अतिक्रमण बढ्दै गएपछि पछिल्लो केही वर्षयता हरिण, बँदेल, निलगाई, घोडगधा लगायत वन्यजन्तुको दक्षिणी क्षेत्र स्थित उखुबारी एवं निजी वनमा चहलपहल बढेको छ । स्थानीयले वन्यजन्तुको शिकार खेल्ने क्रम समेत बढेको छ।

प्रकाशित: ३१ श्रावण २०७५ ११:४५ बिहीबार

हरिण पक्राउ