समाज

निष्ठूरी अामाले सेफ्टी टयाङ्कीमा फ्याँकेकी बालिकाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङमा ९६ घण्टासम्म सेफ्टी ट्याङ्कीमा रही ज्युँदै उद्धार गरिएकी करिब १ वर्षीया बालिकाको मृत्यु भएको छ। योसँगै आफ्नै आमाले कुटपिटपछि सेफ्टी ट्याङ्कीमा फालेका पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीका जुम्ल्याहा दिदी बहिनी दुबैको मृत्यु भएको छ। 

बाबुको पत्तो नभएका जुम्ल्याहा छोरीलाई वर्षदिन नपुग्दै आमा २० वर्षीय कमला बिकले सेफ्टी ट्याङकीमा हालेर फरार भएकी थिइन्। छिमेकीले घाँस काट्ने क्रममा सेफ्टी ट्याङ्की आसपास बच्चा फालेको आशंका गर्दै खोजी गर्दा बच्चालाई सेफ्टी ट्याङ्कीमा फेला पारेका थिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार यही भदौ महिनामा वर्षदिन पुग्न लागेका दिदी बहिनीमध्ये गंगालाई गाउँलेले मृत अवस्थामा भेटाएका थिए भने जमुनालाई जीवितै उद्धार गर्न सफल भएका थिए।

जीवित फेला परेकी जमुनालाई उपचारका लागि झापाको बिर्तामोडतर्फ पठाइएकोमा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान सुरु भएको डीएसपी बस्नेतले जानकारी दिए। 

प्रकाशित: ३१ श्रावण २०७५ ११:०९ बिहीबार

ताप्लेजुङ निष्ठूरी_अामा बालिकाको_मृत्यु