समाज

पाल्पा कारागारमा कैदीबन्दीबीच झडप, २ घाइते

जिल्ला कारागार पाल्पा । तस्बिरः नागरिक

पाल्पा – पाल्पा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जना घाइते भएका घन्। नाईके समूह र अन्य पक्षबीच झडप हुँदा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएका हुन्।

पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले विविध माग राखेर कैदीहरूका दुई पक्षबीच झडप भएको बताए। ‘नाईके समूहबाट आफूहरु पीडित भएको भन्दै उनीहरूबीच भनाभन हुँदा झडप भएको रहेछ। हामी बिहान ५ः३० बजेदेखी शान्ति सुरक्षा व्यवस्थामा लागिपरेका छौं,’ प्रहरी उपरीक्षक पोखरेलले भने।

कैदीबन्दी लक्ष्मण रायमाझिले सरकारले उपलब्ध गराएको सेवा सुविधा नदिने तथा मनोमानी गर्ने गरेका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताए। उनी भन्छन्, ‘नाईकेहरूले मनोमानी सामानहरूमा मूल्य लिन्छन्। ड्रग्स सेवन गरी हामीलाई कुटपीट गर्छन्। हरियो तरकारी समेत कारागारमा खान पाइदैन।’

जिल्ला कारागार पाल्पाकी प्रमुख भक्तिसरा रानाले आन्तरिक विवादका कारण बन्दीहरूबीच झगडा भएको बताइन्। उनी भन्छिन्, ‘बिहानै दुई पक्षबीच आफुहरूले उठाएको माग सम्बोधन नभएको, चौकीदारले मनोमानी गरेका कारण देखाउँदै भनाभन गरे।’

पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बन्दीहरूले नाईकेहरूमाथि लगाएको आरोपलाई नजर अन्दाज नगरिएको बताए। ‘हामी दुवै पक्षको कुरा सुनेर छानविन गर्छौं। नाईके हरू लक्ष्मण चौधरी, विश्वास गुरुङ्ग, देवनारायण ढुङ्गाना र लोकबहादुर खाँडलाई केही दिन बाहिरै राखेर छानविन गर्छौं,’ प्रजिअ खनालले भने। 

 

प्रकाशित: ३१ श्रावण २०७५ ०५:५१ बिहीबार

पाल्पा कारागार कैदीबन्दी झडप