समाज

मन्दिरमा तोडफोड

संखुवासभा- चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर सोमबार बिहान तोडफोड भएको छ। शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ती तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए। मन्दिरको प्राङगणमा शिव लिङ्ग, घण्टीहरु, पूजा सामाग्री छरिएको र साढे (बसाह) को मुर्ती समेत भत्काएको स्थानीयले बताए।

घटनाको सत्य तथ्य बाहिर ल्याउन तीर्थवर्त गर्न आएका श्रद्धालु महिला भक्तजनहरुले माग गरेका छन्। चैनपुर नगरपालिका ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, प्रहरी चौकी र स्थानीयको सहयोगमा मूर्ती र पूजाका सामाग्रीलाई मन्दिरमा राखेर नियमित पूजा सूचारु गरिएको छ। वि.स. १८७४ मा स्थापना भएको सिद्धकालीमा सत्यदेवीको दायाँ आँखा पतन भएको पुराणमा उल्लेख छ।

२०२८ सालको बालाचर्तुदशीको रात मन्दिरमा रहेको देवीको दायाँ आँखा लगायत महत्वपूर्ण मूर्तीहरु चोरी भएको पुजारी टंकनाथ महन्तले बताए। मन्दिरमा ४७ वर्ष पछि अर्को घटना घटे पछि स्थानीयवासी आश्चर्यमा परेका छन्। 

प्रकाशित: २९ श्रावण २०७५ १३:५२ मंगलबार

मन्दिर ताेडफोड