समाज

निर्देशिका विपरित खोटो संकलनले सल्लेरी वन सुक्दै

गन्यापधुरा गाउँपालिकाको एक सामुदायिक वनमा खोटो संकलनका लागी मोटाई कम भएको सल्लाको रुखमा लगाइएका दुई वटा कुप्पी । तस्बिरः नागरिक

डडेल्धुरा – डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भइरहेको छ। सामुदायिक वनका पदाधिकारी,  खोटो संकलन गर्ने कम्पनी र वनकर्मीको मिलेमतोमा निर्देशिका विपरित खोटो संकलन भइरहेको हो।

कुल वन क्षेत्र १ सय १० हेक्टर रहेको डडेल्धुरामा ३० हेक्टर क्षेत्रफलमा सल्ला प्रजातीको मात्रै वन छ। यो कुल वनको ३० प्रतिशत हो। खोटो संकलकले दक्ष कामदारको अभाव, एउटा रुखमा दुई वा दुई भन्दा बढी पिघ लगाउने, रुखको वरिपरि सरसफाई नगर्ने, माउ रुखबाट समेत खोटो संकलन गर्ने, ३६ ईन्च भन्दा कम गोलाइको रुखबाट खोटो संकलन गर्ने गरेका छन्। खोटो संकलन निर्देशिका विपरित खोटो संकलनका कारण अधिकांश सल्लेरी वनका रुख सुखी सकेका छन् भने केही रुख सुक्ने अवस्थामा पुगेका छन्।

लामो समयदेखी निरन्तर रुपमा खोटो संकलनका साथै निर्देशिका विपरित खोटो संकलनका कारण सल्लेरी वन विनास हुने अवस्थामा पुगेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका  छन्। निर्देशिका विपरित सल्लाका रुखहरू सुक्दै जान थालेपछि आफ्नो सामुदायिक वनमा खोटो संकलन गर्ने कार्य यस वर्ष रोकेको समैजी लेगी सामुदायिक वन उपभोक्ता समिती अध्यक्ष दानबहादुर भण्डारीले बताए। वनको महत्व नबुझी पैसाको मुख ताक्ने सामुदायिक बनबाट निर्देशिका विपरित नै खोटो संकलन गर्ने सम्झौता गरेका छन्।

सामुदायिक वनबाट खोटो संकलन गरेवाफत वनलाई खोटो संकलकले प्रतिकिलोग्राम ८ रुपैयाँ दिने गरेको उनको भनाई छ।  निर्देशिका विपरित खोटो संकलन भइरहेको जिल्ला वन कार्यालय डडेल्धुराले पनि स्विकार गरेको छ। जिल्ला वन अधिकृत ईन्द्रमणी भण्डारी भन्छन, डडेल्धुरामा २०३५–०३६ सालदेखि नै खोटो संकलन गरिदै आएको छ। पुरानो कप तरिकाबाट खोटो संकलन गर्दा रुखमा क्षती पुगेकाले १०–१५ वर्षसम्म खोटो संकलन कार्य रोकेको र अहिले वैज्ञानिक तबरबाट खोटो संकलन गरिने भनिएपनि संकलनले विभिन्न कमिकमजोरी गर्दै नियम विपरित खोटो संकलन गरेको पाईन्छ।

डडेल्धुरामा दिव्यारोजीन एण्ड टर्पेन्टाईन अत्तरीया सहित माउण्ट रोजिन र भवानी केमिकल्सले खोटो संकलन गरिरहेका छन्। जिल्लाबाट वर्षेनी ४ हजार मेट्रीक टन खोटो संकलन हुने गरेको छ। उच्च तहका व्यक्तिको सेटिङमा खोटो संकलन हुने गरेकाले जिल्ला वन कार्यालय डडेल्धुराले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा  खोटो संकलन भइरहेका सामुदायिक वनको पटक पटक अनुगमन गरेको भएपनि हालसम्म कारबाहीको दायरामा कसैलाई ल्याउन सकेको छैन्।

अहिले १० वटा प्लटमा सर्वाेच्च अदालतको निर्णय बमोजिम दिव्यारोजीनले मात्रै खोटो संकलन गरिरहेको सहायक वन अधिकृत केशव पुडासैनीले बताए। दिव्यारोजीनले खोटो संकलन गर्ने वनमा ३५ वटा सामुदायिक र दुई वटा राष्ट्रिय वन रहेका छन्। 

प्रकाशित: २९ श्रावण २०७५ ०९:५९ मंगलबार

#डडेल्धुरा #सल्लेरी वन #खोटो संकलन