समाज

रोल्पामा बम बिस्फोट

बन्दले सुनसान सदरमुकाम लिवाङ बजार। तस्बिर : दिनेश/नागरिक

रोल्पा – पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर बजार नजिकै बम बिस्फोट भएको छ। सोमबार बेलुका साढे ८ बजेतिर लगातार ठूलो आवाजमा दुई वटा बम बिस्फोट भएको थियो।

बम कसले कुन प्रयोजनका लागि बिस्फोट गराएको हो भन्ने आधिकारीक पुष्टी नभए पनि आज घोषणा गरिएको बन्द सफल बनाउन बिप्लव नेतृत्वको नेकपाले गराएको हुन सक्ने आशंंका गरिएको छ।

स्थानियका अनुसार सुलिचौर बजार नजिक डाँडामा उक्त बम बिस्फोट भएको हो। बम विस्फोट भएको स्थान नजिक एनसेल र नेपाल टेलिकमको टावर रहे पनि कहाँ लक्षित गरेर बम बिस्फोट गरिएको हो भन्ने खुल्न सकेको छैन।

बम बिष्फोट भएको बारेमा जिल्ला प्रहरी कार्यालय रोल्पाले पुष्टी गर्न चाहेको छैन। ‘सामान्य आवाज सुनिएको मात्र हो’, रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काले भने, ‘खासै केही भएको छैन।’

प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले डाँडातिर पड्किएको आवाज आएकाले प्रहरी टोली त्यतातिर गएको जानकारी दिए।

त्यसै गरी मंगलबार बिहान सदरमुकाम लिवाङमा पनि बिस्फोटको आवाज सुनिएको छ।

उता नेपाल बन्दको पूर्व सन्ध्यामा सदरमुकाम लिवाङ नजिक रुन्टावाङमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मसाल जुलुस प्रदर्शन गरेको थियो।

बन्दका कारण सदरमुकाम लिवाङ लगायत जिल्लाका साना ठुला सबै बजार बन्द छन् भने यातायात पनि सञ्चालनमा आएको छैन।

प्रकाशित: २९ श्रावण २०७५ ०२:५८ मंगलबार

#रोल्पा #बम बिस्फोट