समाज

नयाँ घरमा पहिरो, टहरामा वास

गोरखा - ईट्टा सिमेन्टले बनाएको, चिटिक्कको दुई कोठे घर। बिचबिचमा बन्धन राखेर (भुकम्प प्रतिरोधी) बलियो हुने गरी घर तयार भएको तीन महिना भयो। भुकम्पले घर भत्काएर अस्थायी टहरामा झण्डै तीन वर्ष गुजारा चलाउँदाको पिडा बिस्तारै भुल्दै थिए भिमसेन थापा गाउँपालिका १ निवेलका तिलकबहादुर बानियाँ। नयाँ घरमा बसेको तीन महिनामै भुकम्प प्रतिरोधी घर पहिरोले बग्न ठिक्क परेको छ। कतिबेला घरमाथिको पहिरो खसेर बगाउँछ भन्ने चिन्ताले उनी पानी परेपछि आँखा झिमिक्क गर्दैनन्। नयाँ घर छाडेर एक सातादेखि उनी बारीमा टहरा बनाएर बसेका छन। बस्तुभाउ र परिवारका सबै बारीको कुनामा टहरामै छन्। 

‘पानी परिरहेको छ, पहिरो बग्न छाडेको छैन’ तिलकबहादुरले भने ‘घर बगाउँछकी, पहिरोले बस्तुभाउ पुर्छ कि भन्ने चिन्ता लागेर रातभरी निन्द्रा लाग्दैन।’ उनकी श्रीमती सुनिता दिउँसको समयमा घरमा जान्छिन। घाम लाग्यो भने भित्र खाना, खाजा बनाउँछिन् तर पानी पर्न लाग्यो भने उनलाई नयाँ घरमा जाने आँट आउँदैन। कारण उनको घरमाथिबाट पहिरो बगेको छ। घरमा पहिरो पसेको छ। भुकम्पमा चर्किएको घरलाई मर्मत गरेर अन्नपात राख्ने, बस्तुभाउ बाध्ने ठाउँ बनाएका छन्। सँगै छेउमा भुकम्प प्रतिरोधी घर छ। तर दुबै घर पहिरोले पुरिने खतरामा छ। हरेक दिन वर्षात भएसँगै घरमा भलपानी र पहिरो बग्छ। ‘घर बग्ने डरले पाखामा बसेका छौँ’ उनले थपिन् ‘दिउँसो त छिमेकी आउँछन् हेर्छन, हामी पनि भाग्न भ्याईन्छ, राती सुतिरहेका बेला पहिरोले चेप्छ कि भन्ने डर भो।’

भिमसेन थापा गाउँपालिका १ निवेलको यो एउटा मात्रै घर होईन सिङ्गो गाउँ नै पहिरोको जोखिममा छ। गाउँमाथि अघिल्लो वर्ष सम्म कुनै पहिरो थिएन। अहिले उक्त गाउँ माथि भएर मध्यपहाडी लोकमाग निर्माण हुन थालेपछि पहिरो बगेको हो। सडक बिस्तार गर्दा खनिएको माटो, भिरालो जमिन, भरिएको माटो बर्षातले बगाएर गाउँ सम्म पुर्‍याएको हो। ठुला मेसिन औजार प्रयोग गर्दा निवेल गाउँ माथिको डाँडो चिराचिरा परेको छ। ‘गाउँ नै बगाउँछ कि भन्ने चिन्ता भयो’ स्थानीय पदमबहादुर बानियाँले भने ‘खेती गरेर पनि खान नपाईने भो।’ 

निवेल फाँट सिंचाईको सुविधा भएको, नगरपालिकासँगै जोडिएको, बारपाक सडकबाट नजिकै दुरीमा पर्ने समथर फाँट हो। त्यहाँ धान, तरकारी, माछा पालन, बेमौसमी तरकारी खेती, आलु जस्ता उत्पादन धेरै हुन्छ। व्यवसायिक रुपमा खेती गर्ने किसान धेरै छन्। अहिले सडक खन्ने क्रममा पानी लगिएको नहर भत्किएपछि केही खेतहरु सिंचाईबाट बन्चित छन्। गाउँमाथिबाट बगेको लेतो माटो, पहिरो सिधै बगेर खेतबारीमा पुगेको छ। ‘माटो सबै बगेर खेतमा पुगेको छ, खेत रोपेका छौँ, ढुङ्गा बगेर खेतमा पुग्दा उब्जनी पनि घट्ने भो’ भिमसेन भट्टले भने ‘बिकासले बिनास निम्त्यायो, सडक आवस्यक थियो भने पहिले सर्वेक्षण गर्दा असर नपुग्ने गरी अन्य बिकल्प खोज्नुपथ्र्यो।’ गाउँ, खेतीयोग्य जमिन, बस्ने ठाउँ, नहर सबै भत्कने गरी सडक निर्माण गर्दा भौगोलिक बनोट पनि कमजोर बनाएको उनले गुनासो गरे। मध्यपहाडी लोकमार्गमा काम गर्न खटिएकाहरुले बगेको पहिरो पन्छाउन, बाटो बन्द भएका बेला भने सहयोग गरेको उनी बताउँछन्। 

गाउँ पुरै बग्ने खतरा भएपछि स्थानीय जनप्रतिनीधि र गाउँपालिकालाई पनि उनीहरुले  खबर गरेका छन्। गाउँपालिका प्रमुख इश्वर पाण्डेले पटक–पटक स्थानीयले जानकारी गराएको र आफुले मध्यपहाडीको साईड इन्चार्जलाई खबर गरेर डोजर पठाउँदै पहिरो पन्छाउन भनेको बताए। उनले भने ‘खतरा छ, तत्काल दुईवटा घर बग्ने डर भो, अहिले पहिरोबाट बग्न बचाएर थप पहिरो रोकेर गाउँलाई कसरी संरक्षण गर्ने भन्ने बारेमा गाउँपालीकाले सोचिरहेको छ।’ खेतीयोग्य जमिनको संरक्षण गर्नु अर्को आवस्यक र चुनौतीको विषय भएको उनले बताए। 

 

प्रकाशित: २८ श्रावण २०७५ ११:१४ सोमबार

गोरखा पहिरो