समाज

महाकाली नदीमा पानीकाे सतह बढेपछि सीमा पुलमा आवागमन बन्द

महाकाली नदी माथि बनाइएकाे दाेधारा चाँदनीकाे झाेलुङ्गे पुल ।

महेन्द्रनगर - केहि दिन यता परेको अविरल बर्षाका कारण महाकाली नदीमा पानीकाे सतह बढेकाे छ । नदीमा पानीको जलस्तर अत्यधिक भएपछि भारतीय पक्षले नेपाल– भारत जोड्ने बनबासा पुलमा आवागमनमा रोक लगाएको छ।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई करविर भण्डारीका अनुसार पछिल्लो मापन अनुसार महाकाली नदीको जलस्तर एक लाख १३ हजार क्यूसेक रहेको छ। एक सय बर्ष भन्दा पहिले निर्माण गरिएको पुलमा एक लाख क्युसेक पानीको वहाव पुगेपछि खतरा मानिन्छ। जसका कारण भारतीय पक्षले पुलमा चारपाङ्ग्रे सवारी साधनमा रोक लगाएको हो। भण्डारीका अनुसार चारपाङ्ग्रे बाहेक मोटरसाईकल, साईकल र पैदल यात्रुले भने हिडडुलमा राेक लगार्इएकाे छैन।

केहि दिन अघि पुलको दक्षिणमा भीमदत्त नगरपालिकाको वार्ड नम्बर ११ भुजेलामा महाकाली नदिको बाढीले केहि कटान गरेको थियो। त्यस लगत्तै मर्मत सम्भार गरिएपछि कटान रोकिएको थियो। भण्डारीले दिउँसो तिर महाकालीकाे वहाव बढेको जानकारी पाएपछि प्रहरी टोली त्यस तर्फ गएको जानकारी गराउँदै भने, ‘अहिलेसम्म अवस्था सामान्य छ। कतै क्षती गरेको जानकारी छैन्।’

प्रकाशित: २८ श्रावण २०७५ ०८:१५ सोमबार

महाकाली नदी बाढी