समाज

अन्तरजातीय विवाह गर्नेको परिवारमाथि आक्रमण

भोजपुर– अन्तरजातीय विवाह गरेको परिवारमाथि कुटपिट भएको छ। भोजपुरको अरुण गाउँपालिका ४ चरम्वीमा स्थानीय निशान नेपालीले सोही ठाउँकी राई समुदायकी एक युवतीसंग प्रेम विवाह गरेपछि निशानको परिवारका सदस्यमाथि कुटपिट भएको हो।

स्थानीय भोजन राईसहित अन्य ३ जनाको समूहले निशानको परिवारमाथि कुटपिट गरेपछि जिल्लामा दलितको क्षेत्रमा काम गरिरहेका ६ वटा दलित संघ सस्थाले विज्ञप्ती जारी गरी विरोध जनाएका छन्।

निशानकी बहिनी  आमा, ठुलो बुवासहित परिवारलाई गाली गलौजसहित मरणासन्न हुनेगरी कुटपीट गरेपछि संस्थाहरुले घटनाको भत्र्सना गरेका छन्। नेपाल राष्ट्रिय दलित मुक्त मोर्चाका अध्यक्ष वविन्द्र रसाईली, नेपाल दलित संघका उपाध्यक्ष अनिल विक, नेपाल उत्पीडित जातिय मुक्ती मोर्चाका सचिव विमल रणपहेली, दलित उत्थान ग्रामिण समाजका उपाध्यक्ष भुवन दर्जी,  दलित सीप विकास केन्द्रका सचिव मोहन दुराल र नगरस्तरिय दलित संञ्जालका अध्यक्ष दुर्गा रणपहेलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाही गर्न माग गरिएको छ। 

नेपालको संविधान २०७२ र जातिय छुवाछुत तथा भेदभाव कसुर तथा सजाय ऐन २०६८ को मर्म र   भावना अनुरुप न्याय र कानुनको खिल्ली उडाउदै दिन दाहारै सिंगो वस्ती नै आक्रन्त  पार्ने गरी समाजको सामाजिक सद्भाव खलवलाउने गरि भएको यस घटनाका दोषीलाई तत्काल पक्राउ गरि हदै सम्मको कारवाही गरि पीडितलाई उचित क्षतिपूर्तीसहित समाजमा सम्मानजनक ढंगले बसोबास गर्ने वातावरण मिलाउन नेपाल सरकार तथा सरोकारवाला निकायसंग विज्ञप्तीमा माग गरिएको छ। 

प्रकाशित: २७ श्रावण २०७५ १४:२४ आइतबार

#अन्तरजातीय विवाह #अाक्रमण