समाज

साइक्लिङ मार्फत खोकनाको पर्यटन प्रवर्द्धन

काठमाडौं- राजधानीका तीनवटा प्राचीन सम्पदाको पर्यटन प्रवर्द्धन गर्न शनिबार साइकल यात्रा गरिएको छ। पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ र खोकना पुननिर्माण तथा पुनस्थापना समितिले ‘राइड काष्ठमण्डप टु खोकना’ साइकल यात्रा आयोजना गरेका हुन्।

१२ वैशाखको भुइँचालोले क्षतिग्रस्त बनेका सम्पदाहरु काष्ठमण्डप, बुङमती र खोकनाको पुननिर्माणमा सहकार्य गर्दै ती क्षेत्रलाई साइक्लिङ पर्यटन गन्तव्यका रुपमा चम्काउन ०७२ को गाइजात्रादेखि बर्सेनी साइक्लिङ गर्न थालिएको हो। शनिबारको चौंथो संस्करणमा दुई सय जना साइकले सहभागी भएका थिए। 

काष्ठमण्डपबाट सुरु भएको साइकल यात्रा कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, फर्पिङ पावर हाउस, फर्सिडोल, बुङ्मती हुँदै खोकनासम्म पुगेको थियो। साइकलेहरुले २० किलोमिटर साइकल चलाएका थिए। नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल अपरेटर (नाटो)का महासचिव अमरबहादुर शाहीले सिठी फूकेर यात्राको शुभारम्भ गरेका थिए।

साइक्लिङ अभियान सुरु भएसँगै खोकना साइक्लिङ गन्तव्यका रुपमा परिचित भएको समितिका अध्यक्ष श्याम महर्जनले बताए । खोकनामा बाजागाजा र अबिर सहित साइकल यात्रीको स्वागत गरिएको थियो। त्यस अबसरमा स्थानीय सिकाली व्याण्डले साँगीतिक धुन प्रस्तुत गरेको थियो।

साइकलेहरु खोकना पुगेपछि त्यहाँ नेपालका दुई जना प्रख्यात साइक्लिष्टहरुलाई सम्मान गरिएको छ। साइक्लिङ मार्फत नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान पुर्‍याए स्वरुप सोनाम गुरुङलाई र विश्व साइकल यात्रा एवं सगरमाथा आरोहण गरेर नेपाली युवालाई साइक्लिङ पर्यटनमा प्रेरणादायक भूमिका निवार्ह गरेस्वरुप पुष्कर शाहलाई सम्मान गरिएको कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिए । उनीहरुलाई जनही ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र दिइएको थियो। 

प्रकाशित: २६ श्रावण २०७५ १२:०० शनिबार

पर्यटन साइक्लिङ