समाज

घरेलु मदिरा नियन्त्रणमा नगरपालिकाको चासो

जुम्ला- घरेलु अवैध मदिराका कारण गाउँवस्तीमा विवाद हुने गरेको भन्दै चन्दननाथ नगरपालिका जुम्लाले निगरानी समिति गठन गरेको छ। जिल्लामा अवैध मदिरा नियन्त्रण गर्न चन्दननाथ नगरपालिकाले वडा स्तरमा निगरानी समिति गठन गरेको हो। नगरक्षेत्रमा महिला हिंसा गराउने कारण अवैध मदिरा प्रयोग भएकोले नगरपालिका स्तरको न्यायीक समितिले जनचेतना अभिवृद्धि गर्न वडा स्तरबाटै थालनी गर्ने निर्णय गरेको कार्यवहाक उपमेयर अप्सरादेवि न्यौपानले जानकारी दिईन। 

चन्दननाथ नगरपालिका भित्र गैरकानूनी र अव्यवस्थित रुपमा घरेलु मदिरा उत्पादन उपभोग र ओसार पसार र विक्री वितरण गर्ने कार्य अवैध रुपमा भई आएको हुँदा सो कार्यलाई तत्काल रुपमा नियन्त्रण गर्न निगरानी समिति गठन गरी परिचालन गर्ने निर्णय भएको उनले बताईन।  यो अभियानका लागि सम्विन्धित निकाय सँग समन्वय सहकार्य गर्ने, नगरपालिका क्षेत्रमा लागुपदार्थ तथा मदिरा सेवन गरि हल्ला गर्ने, शान्ति सुरक्षामा खलल गर्ने व्यक्ति समूहलाई कारवाही गराउने बिषयमा पहल गर्ने र  चन्दननाथ नगरपालिकामा शान्ति सुरक्षामा प्रभावकारी वनाउन नगरपालिकामा मौज्दात रहेका सिसिटिभी क्यामरा जडान  गर्ने कार्यलाई अघि बढाउने निर्णय समेत भएको छ।  

जिल्ला प्रशासन कार्यालयको पहलमा सर्वपक्षिय वैठकमा अवैध मदिरा नियन्त्रण गर्ने, हरेक दिन वेलुकी ९ बजेपछि राति होटल तथा पसल व्यवसाय वन्द गर्ने र आवश्यकता अनुसार स्थानीय तहहरुले आआफ्नो बजार क्षेत्रमा सिसिटिभी र सुरक्षा साईरन जडान गर्न निर्णय भएपछि नगरपालिकाले पनि निगरानी समितीको माध्यमवाट अभियान थालेको हो।

प्रकाशित: २६ श्रावण २०७५ ०८:०९ शनिबार

जुम्ला घरेलु मदिरा नियन्त्रण