समाज

सामाजिक सुरक्षा भत्तामा दोहोरो सुविधा लिन बन्देज

उदयपुर – उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले यसअघि सामाजिक सुरक्षा भत्तामा दोहोरो सेवा लिदै आएका १३ सय बढीको नाम लगतबाट हटाएको छ। विगत वर्षदेखि दोहोरो सेवा लिदै आएका तथा तथ्यांक अद्यावधि गर्नमा लापरबाही भएका कारण मृत्युपछि पनि भत्ता वितरण हुँदै आएका १ हजार ३ सय ६१ जनाको नाम लगतबाट हटाइएको हो। 

बिगत वर्षहरूमा वितरण हुँदै आएपनि चालु आर्थिक वर्षदेखि सुधार गर्ने क्रममा तथ्यांक राख्नमा कमजोरी भएको पाइएपछि दोहोरो सुविधा नपर्ने गरी लगतकट्टा गरिएको  प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ महिनाअघि पत्राचार गरी सामाजिक सुरक्षा भत्ता लिनेहरू दोहोरो सुविधामा रहेको पाइए लगत कट्टा गर्न निर्देशन दिएको थियो।

सो निर्देशन अनुसार अध्ययन गर्दा दोहोरो सेवा लिएको तथा मृत्युपछि पनि भत्ता लिने गरेको पाइएका सबै नाम लगतबाट हटाइएको प्रशासकीय अधिकृत लुईटेलले बताए। उनका अनुसार चालू वर्षदेखि सेवा नपाउनेगरी त्यस्ता सेवाग्राही १ हजार ३ सय ६१ जनाको लगत कट्टा गरिएको छ। 

यसबाट वार्षीक सवा करोड राज्यकोषको रकम घाटा हुनबाट बच्ने नगरपालिकाले जनाएको छ। राज्यले जेष्ठ नागरिकँगै अपाङ्गता, एकल महिला, बिधुवा, लोपोन्मुख, सीमान्तकृत समुदाय र दलित समुदायले भत्ता पाउने व्यवस्था गरेको छ। जेष्ठ नागरिक, पूर्ण अपाङ्गता र बिधुवा, दलित एकल महिला तथा बालबालिकालाई मासिक २ हजार,  एकल महिला, अपाङ्गता, लोपोन्मुख समुदायलाई मासिक १ हजार तथा तेस्रो श्रेणी अन्तरगतका सेवाग्राहीलाई मासिक ५ सय सासु भत्ता पाउने गरेका छन्। 

नगरपालिकामा चालू आर्थिक वर्ष ८ सय ९८ जना नयाँ सेवाग्राही थपिएका छन्। पुराना अपडेट गरेर छाँटिएपनि नयाँ सेवाग्राही थपिएको नगरपालिकाले जनाएको छ। नयाँसमेत गरी चालू आर्थिक वर्षदेखि त्रियुगा नगरपालिकाबाट ६ हजार ४ सय २० जनाले सामाजिक सुरक्षा भत्ता पाउने पञ्किाधिकारी खड्गबहादुर खड्काले बताए। खड्काका अनुसार आर्थिक वर्ष २०७४–७५ मा ६ हजार ६८ जनाले सेवा लिएका छन्। 

प्रकाशित: २५ श्रावण २०७५ ०८:३३ शुक्रबार

#त्रियुगा नगरपालिका #सामाजिक सुरक्षा भत्ता #दोहोरो सुविधा