समाज

ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड

नारायणगढ बजारको लायन्स चोकमा राखिएको ट्राफिक आइल्यान्ड। तस्बिर : सविता/नागरिक

चितवन - भरतपुर महानगरपालिकाको प्रमुख बजार क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड राख्न थालिएको छ। महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा आइल्यान्ड राख्ने काम सुरु गरिएको हो।

पहिलो चरणमा भरतपुरका प्रमुख १३ वटा चोकमा आइल्यान्ड राख्न लागिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। आइल्यान्डका लागि अहिले महानगरमा चौतर्फी सडक भएका ठाउँलाई प्राथमिकता दिइएको छ। यस्ता चोकमा तीव्र गतिमा आउने सवारीसाधनले जथाभाबी बाटो काट्ने गर्दा सडक दुर्घटनाको जोखिम समेत रहँदै आएको छ।

पहिलो चरणमा नारायणगढ बजार क्षेत्रका पुल्चोक, सहिद चोक, लायन्स चोक, यस्तै भरतपुर हाइटको वीरेन्द्र क्याम्पस चोक, चौबीसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनललगायत स्थानमा आइल्यान्ड राख्ने कार्य भइरहेको उनले बताए। ‘केही स्थानमा आइल्यान्ड राखेर ट्राफिक प्रहरीले काम थालिसकेको छ,’ उनले भने।

भरतपुर महानगरपालिकाका प्रमुख बजार तथा चोक गरी २० वटा ठाउँमा आइल्यान्ड राखिने उनले बताए। बजार क्षेत्र तथा राजमार्गसँग जोडिएका प्रमुख चोकमा सबैतिरबाट आएका सवारीसाधनले एकैपटक बाटो काट्न खोज्दा सडकमा जाम हुने समस्या देखिएको थियो। सवारीसाधनको चाप बढेअनुसार ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएपछि सवारी आवागमनलाई सहज बनाउन आइल्यान्ड राख्ने काम सुरु गरिएको ट्राफिक प्रमुख गौतमले बताए।

ट्राफिक प्रहरीलाई आइल्यान्डमा बसेर ट्राफिक व्यवस्थापन गर्न सहज हुने भएकाले बढी सवारीसाधन चल्ने चोकमा आइल्यान्ड राखिँदैछ। नारायणगढ बजार क्षेत्रमा राखिएको आइल्यान्डले बजारको सुन्दरता बढाउनुका साथै ट्राफिक व्यवस्थापन गर्न सहज भएको अनुभव उनको छ। उनले भने, ‘ट्राफिक आइल्यान्डले रोड डिभाइडरको पनि काम गरेको छ।’

रातको समयमा ट्राफिक साइनसहित टल्किने भएकाले पनि आइल्यान्ड महत्वपूर्ण रहेको उनले बताए। आइल्यान्ड राखेर ट्राफिक व्यवस्थापन गर्न सुरु गरिसकेपछि बजार तथा राजमार्गका चोकमा हुने सडक दुर्घटनाको दर कम हुने विश्वास गरिएको छ। गएको आर्थिक वर्षमा भरतपुर हाइट र नारायणगढ बजारलाई परिक्रमा गर्ने भरतपुर नगर सडक (रिङ रोड) मा मात्रै ३० वटा दुर्घटना भएको थियो । दुर्घटनाबाट ११ जनाको मृत्यु र ३१ जना घाइते भएका थिए। अहिले थालिएको ट्राफिक आइल्यान्ड राख्ने काममा यही रिङ रोड क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ।

प्रकाशित: २५ श्रावण २०७५ ०२:३१ शुक्रबार

#भरतपुर महानगरपालिका #ट्राफिक व्यवस्थापन #ट्राफिक प्रहरी