समाज

सिरहामा पेस्तोल देखाएर दिउँसै लुटियो २५ लाख ६० हजार

सांकेतिक तस्बिर

सिरहा- सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुरबाट अपरिचित बन्दुकधारी समूहले एकजना मनी ट्रान्सफर सञ्चालकसँग रकम लुटेर लगेको छ। बिहीबार दिउँसो १२ : ३० बजे बन्दुकधारी समूहले राजाराम साहसँग २५ लाख ६० हजार रकम लुटेर लगेको छ।

कल्याणपुर बजारमा राजाराम मनि ट्रान्सफर सञ्चालन गर्दै आएका साह मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर कार्यालय आउँदै थिए। उक्त  रकम लिएर मोटरसाईकलमा जाँदै गरेका साहलाई राघोपुर नजिक दुईवटा मोटरसाईकलमा आएका बन्दुकधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहले बताए। सो समूहले रकम लुटेपछि साह चढेको मोटरसाईकबाट तेलको पाईप समेत चुडालिदिएको थियो।

डिएसपी साहका अनुसार लुटेरा समूह धनुषातिर भागेको बुझिएको छ। घटनास्थल मिर्चैया बजारबाट तीन किलोमिटर दक्षिण मिर्चैया –कल्याणपुर– सिरहा सडकमा पर्छ। लुटेरा समूहको खोजीकार्य तिव्र पारिएको प्रहरीले बताएको छ। दिउँसै पेस्तोल ताकेर रकम लुटिएपछि यस क्षेत्रका व्यपारिहरु त्रसित बनेका छन्। करिब दुई महिना अघि यसै ठाउँबाट अर्का मनी ट्रान्सफर सञ्चालकको ११ लाख रकम लुटिएको थियो। यो घटनामा संलग्नहरुबारे अझै प्रहरी सुराक विहिन छ।

 

 

 

प्रकाशित: २४ श्रावण २०७५ ०९:१४ बिहीबार

सिरहा लुट