समाज

बेलहिया नाकाबाट भित्रने पर्यटकको संख्यामा वृद्धि

बेलहियास्थित अध्यागमन अगाडि श्रीलङ्काका पर्यटक ।    तस्बिर/नागरिक

बुटवल – रुपन्देहीको बेलहिया नाकाबाट यो वर्ष ७६ हजार बढी पर्यटक नेपाल भित्रीएका छन। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने यो नाकाबाट यस वर्ष सन् २०१८ को जनवरी देखि जुलाईसम्मको ७ महिनामा ७६ हजार ८ सय ७८ जना बाह्य पर्यटक नेपाल आएको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ। यो संख्या गत वर्षको तुलनामा जम्मा १ हजार २ सय १ ले बढी हो। गत वर्षको सोेही अवधीमा ७५ हजार ६ सय ७७ विदेशी पर्यटक नेपाल आएका थिए। 

बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको मुख्य गन्तब्य लुम्बिनी हो। तराइका जिल्लामा अत्यधिक गर्मी हुने भएकाले अप्रिलदेखि सेप्टेम्बर सम्मको ६ महिना पर्यटन आवागमनको अफ सिजन मानिन्छ। बुद्ध जन्मस्थल लुम्बिनीका लागि अक्टोबरदेखि पर्यटकीय सिजन सुरु हुन्छ। अक्टोबरदेखि मार्च सम्मको ६ महिना पर्यटक आगमनको मुख्य सिजन भएकाले यो समयमा नेपाल घुम्न आउने विदेशीको संख्या उल्लेख्य बढ्ने अध्यागमन कार्यालय बेलहियाका प्रमुख अधिकृत गिरीराज खनालले बताए। 

अगस्ट र सेप्टेम्बर महिना भने बुद्ध धर्मावलम्बीहरूको लागि पवित्र धार्मिक महिना हो। त्यसैले अगस्ट र सेप्टेम्बरमा गर्मी भएपनि श्रीलंका, थाइल्याण्ड, म्यानमार लगाएतका देशका बौद्ध धर्मावलम्बीहरू बर्षावास तथा बुद्धपुजा र दर्शनका लागि लुम्बिनी आउँछन। श्रीलङ्का, थाइल्याण्ड, म्यानमार र कोरीया जस्ता देशबाट आउने धार्मीक पर्यटकहरूको एक मात्र गन्तब्य लुम्बिनी भएकाले उनीहरू लुम्बिनी दर्शन लगत्तै बेलहिया नाकाबाटै फर्कन्छन। तर चिन, अष्ट्रेलिया, क्यानडा, अमेरीका,जापान, नेदरल्याण्डस, कम्बोडिया जस्ता देशका पर्यटकहरू भने लुम्बिनी घुमेपछि चितवन, पोखरा हुँदै काठमाडौंसम्म पुग्ने गर्छन्।

अध्यागमनको तथ्याङ्क अनुसार ७ महिनामा यो नाकाबाट नेपाल भित्रीएका बाह्य पर्यटकमा सबैभन्दा धेरै थाइल्याण्डका छन्। श्रीलङ्का, म्यानमार, कोरियाल र चीनबाट आउने पर्यटकको संख्या पनि उल्लेख्य छ। तर अघिल्लो वर्ष भन्दा यस वर्ष चिनीया पर्यटकको संख्या घटेको छ।  यसपाली चीन र भारतको सम्बन्ध त्यती सुमधुर नदेखिएका कारण चिनीयाहरू भारतीय बाटो हुँदै नेपाल कम आएको हुन सक्ने अध्यागमन बेलहियाका प्रमुख खनालले बताए। गत वर्षको सोही अवधीको तुलनामा चिनीया पर्यटकको संख्या करिब १ हजारले कम छ। चिनीयाको संख्या घटेपनि कोरीयाली भने  गत वर्ष भन्दा १ हजार बढी आएका छन्। 

७ महिनामा बेलहियाबाट सबैभन्दा धेरै थाइल्याण्डका १९ हजार ३ सय ३८ पर्यटक नेपाल आए। त्यस्तै १८ हजार ४ सय १८ श्रीलङ्काली र १७  हजार ४ सय ६२ म्यानमारका पर्यटक नेपाल आएका छन्। यस्तै ४ हजार २ सय ४३ कोरियाली, २ हजार ३ सय ९० चिनीया र २ हजार २ सय ४४ भियतनामी पर्यटक बेलहिया नाकाबाट नेपाल घुम्न आएका हुन्।

यसपाली बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने अमेरीका, बेलायत, अष्ट्रेलिया, कम्बोडिया, नेदरल्याण्डस, स्पेन, ताइवान, जापान जस्ता देशका पर्यटकको संख्या भने खासै बढेन। यो वर्ष सबैभन्दा धेरै २९ हजार ९ सय ६० पर्यटक मार्च महिनामा भित्रीएका थिए। अध्यागमन बेलहियाले ७ महिनामा पर्यटक आवागमन बापतको राजश्व ५ करोड ५२ लाख १२ हजार संकलन गरेको छ।

नेपाल सरकारले सार्क मुलुकका पर्यटकका लागि वर्षको एक पटक एक महिनाको अवधिका लागि फ्रि भिसाको व्यवस्था गरेको छ। त्यस्तै  सार्क बाहेकका अन्य देशका पर्यटकका लागि भने न्यूनतम १५ दिने भिसाको २५ डलर, ३० दिनको ४० र ९० दिनको १ सय डलर भिसा शुल्क तोकेको छ। 

प्रकाशित: २४ श्रावण २०७५ ०८:०० बिहीबार

#रुपन्देही #बेलहिया नाका #पर्यटक