समाज

रसुवामा रातिको समयमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड निर्माण

रसुवाको सदरमुकाम धुन्चेमा निर्माण गरिएको हेलिप्याड। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – रसुवामा रातिको समयमा हेलिकप्टर अवतरण गर्नका लागि नयाँ हेलिप्याड निर्माण गरिएको छ।     

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले आधुनिक हेलिप्याड निर्माण गरेसँगै रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्न सकिने भएको हो। सेनाले पुरानो हेलिप्याड रहेको स्थानमा नयाँ हेलिप्याड निर्माण गरेको छ। हेलिप्याड निर्माणका लागि करिब १४ लाख खर्च भएको छ।

हेलिप्याडमा वाइन्ड डिरेक्सन इन्डिकेटर, लाइटिङ, हेलिकप्टरको इन्ट्री र एक्जिट प्वाइन्ट राखिएकोे गणले जनाएको छ। बत्ती आइकाओ मापदण्डको राखिएको छ। हेलिप्याडमा २० वटा सेन्सर बत्ती छन्। रातिको समयमा बल्ने र उज्यालो भएपछि निभ्ने भएकाले राति अवतरणमा समस्या नहुने सेनाले जनाएको छ।

बत्ती सोलारबाट सञ्चालन हुनेछ। ६ इन्च सोलिङ गरेर ६ इन्च ढलान गरिएको छ। हेलिप्याडमा रडको प्रयोग गरिएको छ। ५० फिट डायमिटरको हेलिप्याड निर्माण भएको सेनाले जनाएको छ। एमआइ सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सकिने बताइएको छ।

हेलिप्याड निर्माणका लागि जिल्लाको तीन वटा गाउँपालिका, तीन वटा जलविद्युत आयोजना र मैलुङ स्याफ्रु निर्माण कार्यदलले निर्माण सामग्री उपलब्ध गराएका सेनाले जनाएको छ।

जिल्लाको गोसाइँकुण्ड, आमाछोदिङ्मो र कालिका गाउँपालिकाले निर्माण सामग्री उपलब्ध गराएका छन्। त्यसैगरी रसुवागढी, सान्जेन र माथिल्लो त्रिशुली एकले हेलिप्याड निर्माणमा सामग्री उपलब्ध गराएका बताइएको छ।

भौगोलिक विकटता, जीर्ण सडक र एम्बुलेन्सको अभावका कारण जटिल खालका बिरामीलाई समयमा अस्पताल पु-याउन समस्या हुँदै आएको छ। विपद्को समयमा सवारी साधनबाट लैजानका लागि सम्भव नभएकोले हेलिप्याडको निर्माणले सहज हुने बिश्वास गरिएको छ।

निर्माण भएकोे हेलिप्याडमा सर्वसाधारणको समेत पहुँच रहने छ। सामान्य अवस्थामा सर्वसाधरणले हेलिप्याड प्रयोग गर्न नपाउने भएपनि आपतकालीन अवस्थामा भने प्रयोग गर्न सक्ने छन्।

प्रकाशित: २४ श्रावण २०७५ ०६:५५ बिहीबार

#हेलिकप्टर #हेलिप्याड