समाज

नेवार समुदायमा गथाँमुग पर्व मनाइँदै

फाइल फाेटाे

काठमाडौं - नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात घण्टाकर्ण चतुर्दशी मनाइँदै छ। दोवाटो र चौवाटोमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाइन्छ।

नेवारी भाषामा यस दिनलाई गथाँमुग चह्रे पनि भन्दछन्।  ‘ग’ को अर्थ घर, ‘थाँ’ को अर्थ स्तम्भ, र ‘मुग’ को अर्थ बलियो हुन्छ पनि भन्ने गरिएको छ। चतुर्दशीलाई नेवारीमा ‘चह्रे’ भन्दछन्। प्रत्येक वर्ष श्रावण कृष्णपक्षको चतुर्दशी तिथिमा गथाँमुग पर्व मनाइन्छ।

यस पर्वमा नेवार समुदायले घरभित्र रहेका सम्पूर्ण अपवित्र वस्तु, भूत, प्रेत, पिशाच, राक्षस, उपियाँ, उडुस तथा रोग–व्याधि आदिलाई विधिवत् मन्छाई आफ्नो बासस्थान, टोल–छिमेक र बाटोघाटो सफा, बलियो एवं सुरक्षित बनाइराख्न यो पर्व मनाउँदै आएको किम्बदन्ती छ।

विहान सबेरै ठड्याइएको गथाँमुगलाई साँझपख नर्कट र रुखका अरु हाँगाहरु थपी ठूलो आकार बनाई दुबै कानमा घण्टा झुन्डयाइएको भयानक मुखाकृतको मुखुण्डोको चित्र बनाई त्यसमा राख्ने गर्दछन्।

वर्षाको समयमा किसानहरू अन्नबाली लगाउन बढी व्यस्त हुने भएकाले यो समयमा घरको सरसफाइ नहुने हुँदा फोहोर जम्मा हुने र किराकिरी घरमा प्रवेश गरी दुःख दिने सम्भावना रहेकाले आजको दिनमा सफारसफाई गरिने गरेको सरोकारवाला बताउँछन्।

घरका अँध्यारा कुना र फोहोरमा मानिसलाई दुःख दिने राक्षस, दुष्ट आत्मा एवं भूतप्रेतको बास हुन्छ भन्ने धार्मिक विश्वास रहेकाले आजका दिनमा सरसफाई  गरिने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ।

यसरी सफा गर्दा संकलन भएको फोहोरलाई राक्षस मानेर छ्वाली, नर्कट, बोझोको बोट, सिस्नो, गाँजा आदि काम नलाग्ने वनस्पतिमा पोको पारिन्छ। त्यसलाई यथासम्भव कलात्मकता दिएर गथाँमुग बनाइन्छ र त्यही राक्षसरूपलाई गाली गर्दै घरबाट बाहिर निकाल्ने गरिन्छ।

प्रकाशित: २४ श्रावण २०७५ ०४:२९ बिहीबार

#नेवार समुदाय #गथाँमुग पर्व