रोल्पा – रोल्पाका धेरै जसो गाउँहरू हिजो आज सडक संजालबाट तोडिएका छन्। बर्षातको सुरुवातसँगै बन्द भएका अधिकांश ग्रामीण सडक कहिले संचालनमा आउला भन्ने अन्यौलता छ। जिल्लाका कुन कुन सडक कति स्थानमा पहिरोले रोकिएको छ भन्ने आधिकारीक तथ्याङ्क कोही कसैसँग नभएपनि धेरै जसो गाउँ सडक बिहीन बनेका हुन।
‘ठाउँ ठाउँमा ठुला साना धेरै पहिरो गएका छन्। हाम्रो तिर एक महिना बढि भो पैदल हिड्न थालेको। अझै केहि समय यस्तै हो। पहिरो सोहोरेर मात्र के गर्नु तल फाल्यो माथिबाट लेदो झरिहाल्छ।’ थवाङ गाउँपालिका प्रमुख बिरबहादुर घर्तीले भने, ‘पहाडि भुगोल, नयाँ सडक भएकाले पनि यसो भएको हो। पानी रुक्यो भन्ने सडक सुचारु गर्न सहिदमार्ग सडक आयोजनाले काम थाल्ने छ। अन्य गाउका सडक हामी सफा गर्ने सोचमा छौ।’
गाडी बन्द भएपछि स्थानीयहरूलाई खाद्यान्न लगायत सामान बोकेर लैजानु परिरहेको छ। सडक अवरुद्ध भएसँगै यहाँ आयत हुने खाद्यान्न समेत ढुवानी हुन सकिरहेको छैन। महँगीसमेत बढ्दै गएको छ। सवारी साधन पुग्ने स्थानबाट खच्चड मार्फत खाद्यान्न र अन्य अत्यावश्यक सामान ओसारपसार भइरहेको छ। कोहि बिरामी भयो भने परम्परागत शैली अपनाउँदै डोकोमा राखेर उपचारका लागि दौडाउनुको बिकल्प छैन।
गाउँहरू सडक बिहीन हुँदै गर्दा स्थानीय प्रशासन पनि चिन्तामा छ। ‘बर्षातको समय छ। कतै कुनै घटना भयो भने त्यहाँसम्म जान समस्या हुनेछ। रोल्पा त्यसैपनि बाढि पहिरोको जोखिममा छ। केही भयो भने उद्धार गर्ननै समस्या हुने देखिन्छ’ रोल्पा प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले भने। ‘जिल्लाका धेरै सडकहरू अवरुद्ध छन्। तत्काल खुलाउने पहल पनि भएको देखिदैन।’
ठाउँ ठाउँमा पहिरो खसेको छ भने कतै सडकनै पुरिएका छन। प्राबिधिक योजना बिनै डोजर अपरेटरले आफ्नै ढंगले खनेका सडकहरू त झनै अस्त व्यस्त छन। नियमीत गाडी चल्ने सडकहरू पुरिएपछि स्थानीयहरू कहिले बन्ला भनेर प्रतिक्षा गरिरहेका छन। ‘गाडी चल्न छोडयो। दिनभर हिँडेर मात्र घर पुगिन्छ। ठाउँ ठाउँमा बाटो बिग्रीएको छ। खै कहिले बन्ला र सजिलो होला।’ दुर्गम गाउँ गामका देउसिंह घर्ती स्टोनले भने, ‘आफु खुसी बाटो खन्छन् अनी सानो पानीले पनि बगाइहाल्छ।’
गाम, थवाङ, उवा, मिरुल, रांकोट, कुरेली, स्युरी, सेरम, हार्जङ, फगाम, तेवाङ, जिनावाङ, ओत, राक, पाखापानी जस्ता साविकका गाविसहरू सबैभन्दा बढी मारमा छन।
प्रकाशित: २३ श्रावण २०७५ ०५:२१ बुधबार