समाज

बाढीबाट बच्न डेरा खोज्दै

इटहरी – वर्षा लागेयता सुनसरीको इटहरी वडा नम्बर ३ की नीता लिम्बूको हरेक दिन त्रासमा बित्ने गरेको छ । अविरल वर्षाका कारण कतिबेला गाउँ नजिकैको बूढीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले उनलाई सताउने गरेको हो।

यसैकारण वर्षायामभरि ज्यान जोगाउन उनले भदौसम्मका लागि सुरक्षित स्थानमा कोठा भाडामा खोजिरहेकी छन् । तर अहिलेसम्म कतै कोठा पाउन सकेकी छैनन्।

उनका श्रीमान् कृष्ण ज्यालादारी गर्न खोटाङ गएका छन् । सरकारले बर्खाका बेला खोलाबाट बालुवा उत्खनन् बन्द गरेपछि काम खोज्दै उनी खोटाङ गएका हुन् । श्रीमान् उता गएकाले नीता तीन वर्षकी छोरीको साथमा बस्दै आएकी छन्।

अघिल्लो वर्षजस्तो बूढीखोलामा बाढी आएमा खतरा हुन सक्ने भन्दै उनले सुरक्षित स्थानमा डेरा खोजेकी हुन् । ‘बाढीपीडित भनेपछि एक त डेरा दिन मान्दैनन्, कोठा भेटिइहाले पनि पूरै फ्ल्याटै लिनुपर्ने रे,ु उनले भनिन्, ‘हामी गरिबले कसरी फ्ल्याट भाडामा लिनु?’ खोलाले कटान गर्न नदिन ढुंगा र जाली त लगाइएको छ तर, त्यो त्यति भरपर्दाे ढंगले नलगाइएको उनको आरोप छ।

यस्तै बाढीकै त्रासले इटहरी वडा नं. ४, गैरीगाउँका पुष्पा लिम्बूले पनि सुरक्षित स्थानमा भाडामा कोठा खोजिरहेकी छन् । तर, पाँच÷छ दिन लगाएर खोज्दा पनि एउटा कोठा कतै नपाइएको उनले गुनासो गरिन् । ‘कोठा पनि महँगो, अनि एउटा कोठा नपाइने भएकाले जे होला–होला भनेर घरमै बसिरहेका छौं,’ उनले भनिन्, ‘अब बाढी आउनेबित्तिकै भाग्नुबाहेक अरू उपाय छैन।’

गाउँ नजिकैको बूढीखोला पहाडमा पानी पर्नासाथ बढ्ने गर्छ । स्थानीय बासिन्दाका अनुसार बाढी आयो भने यस वर्ष पूरै बस्ती सखाप पार्ने निश्चित छ । ‘यसपटक बाढी आएर कटान ग¥यो भने बस्तीका सबै घर जान्छन्,’ इटहरी वडा नं. ३ का सागर लिम्बूले चिन्ता प्रकट गरे।

त्यसो त जेठमै डेरा खोज्ने कतिपयले भने भाडामा कोठा पाएका छन् । इटहरी वडा नं. १० की दिलकुमारी लिम्बू खोलाको छेउमै घर हुने अधिकतरले डाँडातिर कोठाभाडा लिएर सुरक्षित भएको जानकारी दिइन् । तर बाँकी अरूले भने अहिलेसम्म कोठा पाउन नसकेका हुन्।

अघिल्लो वर्ष बूढीखोलाको बाढी पसेर घर भत्काएपछि प्रायः पीडितले आफ्नै बलबुताले घर ठड्याएका थिए । तर अरू बेला कुनै चिन्ता नहुने उनीहरूलाई जब बर्खा लाग्छ तब चिन्ताले सताउने गर्छ।

स्थानीय बासिन्दा सबैको एउटै आवाज छ– सरकारले गतिलो तटबन्ध बनाइदिए हुन्थ्यो । तर यसमा सरकारी निकायले कुनै चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ।

प्रकाशित: २३ श्रावण २०७५ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App