समाज

छिटो छानबिन गर्न स्थानीयको माग

जुम्लास्थित कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ।   तस्बिर : नागरिक

जुम्ला – जुम्लावासीले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा साउन ३ गते भएको घटनाको तत्काल छानबिन थाल्न माग गरेका छन् । उनीहरुले प्रतिष्ठानको कार्यकारी परिषद्ले गठन गरेको उच्चस्तरीय छानबिन समितिले दुई सातासम्म पनि छानबिन सुरु नगर्नु दुखद भएको बताएका छन्।

छानबिनमा ढिलाई गरेर दोषीलाई उम्काउने प्रयास भइरहेको उनीहरुको आरोप छ । अस्पतालको घटनामा प्रतिष्ठानभित्रकै व्यक्तिको संलग्नता रहेको देखिएकाले दोषीलाई उम्काउने प्रयास भएको उनीहरुको विश्लेषण छ।

जुम्लाको हिमा गाउँपालिकाका युवा अगुवा लक्ष्मण शाहीले अनशनरत डा. गोविन्द केसीलाई बलपूर्वक काठमाडौ लैजाने क्रममा अस्पतालमा भएको घटनालाई सामान्य तरिकाले हेर्न नमिल्ने बताए । उनले भने, ‘अस्पतालजस्तो संवेदनशील स्थानमा हतियारसहित प्रहरी प्रवेश गरेर सर्वसाधारण नागरिक, कर्मचारी, चिकित्सक र स्टाफ नर्समाथि लाठी वर्षाएका छन् । डा. केसीका समर्थकको प्रहारबाट प्रहरी पनि घाइते भएका छन्।

यस घटनाको जड के हो भन्ने विषयमा छिटो भन्दा छिटो छानबिन गर्न जरुरी छ ।’ यो घटनालाई ढाकछोप गरिए कर्णालीको स्वास्थ्यक्षेत्रमा ठूलो समस्या आउन सक्ने खतरा रहेको उनले बताए । शाहीले भने, ‘स्वास्थ्य क्षेत्रको हब बन्ने दिशातिर उन्मुख कर्णाली प्रतिष्ठानको विकासमा अवरोध आउन नदिन पनि छानबिन समितिबाट घटनाको छिटोभन्दा छिटो छानबिन हुनुपर्छ । दोषीलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायामा सिफारिस गर्नुपर्छ, नत्र पवित्र संस्था अस्पताल सधैं असुरक्षाको घेरामा रहनेछ । यसको जिम्मेवारी अस्पताल पदाधिकारी र राज्यले लिनुपर्ने अवस्था आउन सक्छ।’

राज्य पक्षले प्रतिष्ठानका पदाधिकारीले विद्यार्थी, नर्स, चिकित्सक प्रयोग गरेर घटना ठूलो बनाएको आरोप लगाएको छ भने प्रतिष्ठानले राज्य पक्ष हतियारसहित प्रवेश गरेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा तोडफोड र कुटपिट गरेको आरोप लगाएको छ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले राज्यले छानबिन समिति गठन गर्नुपर्नेमा प्रतिष्ठानको कार्यकारी परिषद्ले समिति गठन गर्नुमा ठूलो रहस्य रहेको बताए । उनले भने, ‘साउन ३ गते घटना भयो, ८ गते छानबिन समिति गठन भएर ९ गते नै छानबिन सुरु गर्न प्रतिष्ठानले पत्राचार गरेको छ तर अहिलेसम्म छानबिन कार्य अघि बढ्न सकेको छैन । यो नै सबैभन्दा ठूलो विडम्बनाको कुरा हो।’

राज्य पक्षले प्रतिष्ठानका पदाधिकारीले विद्यार्थी, नर्स, चिकित्सक प्रयोग गरेर घटना ठूलो बनाएको आरोप लगाएको छ भने प्रतिष्ठानले राज्य पक्ष हतियारसहित प्रवेश गरेर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा तोडफोड र कुटपिटका क्रियाकलाप गरेको आरोप लगाएको छ । राज्य र राज्यको स्वामित्वमा रहेको प्रतिष्ठानबीचको आरोपप्रत्यारोप अन्त्य गर्न पनि छानबिन समितिले सत्य तथ्य पत्ता लगाउन आवश्यक भएको यहाँको नागरिक समाजको भनाइ छ।

उता छानबिन समितिले प्रतिष्ठानको कार्यकारी परिषद्ले स्पष्ट कार्यादेश नदिएको भन्दै छानबिन गर्न नसकेको जनाएको छ । प्रतिष्ठानले उपकुलपति राजेन्द्रराज वाग्ले छानबिनमा सघाउन कागजातसहित काठमाडौं गइसकेको जनाएको छ । ‘तर छानबिन प्रक्रिया कहाँ रोकिएको छ’, नागरिक समाजका अध्यक्ष महतले प्रश्न गर्दै भने, ‘छानबिनका लागि सबैको साथ चाहिन्छ तर केन्द्रीय कार्यालय जुम्लामै आएर घटनाको छानबिन हुनुपर्छ । जुम्ला घटनाको छानबिन काठमाडौंमा गरेर लटपटर गर्न पाइँदैन । यसमा जुम्लावासी सचेत छौं।’

प्रतिष्ठानमा स्टाफ नर्स र एचए पढ्दै गरेका विद्यार्थीले अस्पतालमा घटना हुनुको दोष अस्पताल पदाधीकारीले लिनुपर्ने माग गरेका छन् । चन्दननाथ नगरपालिका २ का कर्णबहादुर भण्डारी छानबिन प्रक्रिया ढिलो हुनुमा घटना गुपचुप राख्न खोजिएको जस्तो देखिएको बताउँछन् । ‘त्यो घटना सम्झँदा अहिले पनि बिरामी झस्कन्छन् । उनीहरुले सुरक्षाको अनुभूति गर्न सकेका छैनन्’, भण्डारीले भने, ‘तत्काल छानबिन गरेर दोषीलाई कारबाही नगरेसम्म यहाँका बिरामीको मनमा सन्तोष हुँदैन ।’ राजनीतिक अगुवाका कारण अस्पतालमा घटना भएको उनले बताए।

प्रकाशित: २३ श्रावण २०७५ ०३:२४ बुधबार

#जुम्ला #कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान #छानबिन #घटना