समाज

चितवनमा सवारी दुर्घटना, ४ जनाको मृत्यु, १७ घाइते

चितवन – चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० भानु चोकमा गएराती भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। 

पूर्वबाट आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो।

राती करिब ११ बजेतिर भएको दुर्घटनामा परि मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर २ का ३० वर्षीय बुद्धिमान लामा, सोही ठाउँका ३४ वर्षीय मोहन घिसिङ र काठमाडौं थानकोट बस्ने ४८ वर्षीय विष्णुप्रसाद थापा रहेका छन्।

अन्दाजी ३५ वर्षीय मृतक महिलाको भने नाम थर नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। दुर्घटनामा परी १७ जना घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेहरूको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

 

प्रकाशित: २३ श्रावण २०७५ ०१:३९ बुधबार

#चितवन #सवारी दुर्घटना #४ को मृत्यु