समाज

पेट्रोलियम पदार्थमा पनि स्थानीय निकायको कर

इलाम– प्रदूषण नियन्त्रण शुल्क भन्दै  इलाम नगरपालिकाले डिजेल र पेट्रोलमा  प्रतिलिटर ५० पैसा कर लगाएको छ । नगरपालिकाले डिजेल र पेट्रोल उपभोग गरबापत कर उठाउन थालेको हो। नगरपालिकाले नेपाल आयल निगमलाई पत्र नै लेखेर त्यस्तो कर लिइने भएकाले सहयोग गरिदिन भन्दै अनुरोध गरेको छ। 

नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर १ रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको छ तर पनि हाललाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको उक्त पत्रमा जनाइएको छ। नगरपालिकाको सचिवालय बैठकले ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने निर्णय गरेको हो। 

नगरवासीले भने नगरपालिका जनतालाई सुविधा दिने भन्दा पनि कर मात्र बढाउने भन्दै आलोचना गरेका छन्। इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने प्रदूषण नियन्त्रण शुल्क नगरपालिकाले लिँदा विरोध गर्नुपर्ने कारण नरहेको दाबी गर्छन् । इलाम नगरपालिकाभित्र बिब्ल्याँटे र इलाम बजार गरी दुई पेट्रोल पम्प सञ्चालनमा छन् । रासस

प्रकाशित: २२ श्रावण २०७५ ०६:१९ मंगलबार

पेट्रोलियम स्थानीय निकायको कर इलाम नगरपालिका