समाज

घरबाट खेल्न निस्केका थिए निशान

काठमाडौं– काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन्। स्कुलबाट फर्केर घर पुगी खेल्न निस्केका निशान आइतबार साँझ अपहरणमा परेका थिए। सिन्धुपाल्चोक घर भई हाल काडाँघारीमा बस्ने उनी सिनामंगलको हाइल्याण्ड इंग्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए।

अपहरणमा परेका निशानलाई खोज्दै जाँदा भक्तपुरस्थित ठिमीको निर्माणाधिन भवनमा उनको शव फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।

पारिवारिक स्रोतका अनुसार स्कुलबाट फर्किएका निशान साथीसँग खेल्न आइतबार साँझ ६ बजे घरबाट निस्किएका थिए। खेल्न निस्किएका उनी अबेरसम्म घर नफर्केपछि परिवारले उनको खोजी सुरु गरेको थियो।

‘साथीसँग खेल्न जाने भनेर गएको थियो। कहिलेकाहीँ साथीको मै बस्ने गरेकाले अबेर मात्र हामीले खोजी थाल्यौं’, पारिवारिक स्रोतले भन्यो,– ‘साढे ९ सम्म पनि नआएपछि खोजी सुरु भयो।’

परिवारले छोरा हराएको भन्दै खोजी खोजी सुरु गर्दा साढे ९ बजेतिर आमाको मोबाइलमा निशान अपहरणमा परेको भन्दै फोन आएको थियो। अपहरणकारीले लाखौं रकम फिरौती मागे, प्रहरीलाई भने बच्चालाई मारिदिने धम्की समेत दिए। धम्कीका बाबजुद परिवारका सदस्यले प्रहरीलाई खबर गरे।

लगत्तै भक्तपुरको टोलीसँगै अपराध महाशाखाको प्रहरी टोली खोजतलासका लागि खटियो। खोजी गर्दै जाँदा ठिमी क्षेत्रमा बन्दै गरेको घरमा गाडेको अवस्थामा बालकको शव फेला पर्‍यो।

सीम ट्रयाक गर्दा अपहरणकारी फेला

एसएसपी सिंहका अनुसार अपहरणकारीले गरेको फोनको सीम ट्रयाक गर्दै जाँदा प्रहरीले उनीहरुलाई डोलेश्वरको जंगलमा फेला पारेको थियो। त्यसक्रममा प्रहरी र अपहरणकारीबीच मुठभेड भयो। प्रहरीको गोली लागी दुई अपहरणकारी मारिए। प्रहरी इन्काउन्टरमा मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ छन्।

 

प्रकाशित: २१ श्रावण २०७५ ११:०० सोमबार

अपहरण बालक हत्या